काठमाडौँ । सय साताको अन्तिम कारोबारका नेप्से सूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा अडिएको छ। पछिल्लो केही साता यता दैनिक रूपमा बजारमा गिरावट आएको हो ।

नेप्से सूचकसँगै कारोबार रकम समेत थप घटेको छ । आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो । यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समहको ०.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१२ प्रतिशतसहित ११ उपसूचक राताम्य भएका हुन् ।

यसअघि दैनिक करिब ३० अर्ब पुगेको कारोबार रकम अहिले ५ अर्ब हाराहारीमा आएको छ। अब बजार सुधारका लागि नेप्से सूचकसँगै दैनिक कारोबार रकम पनि वृद्धि हुँदै जानुपर्ने देखिन्छ। यसअघि छोटो समयमा बजार बेस्सरी बढेको थियो । त्यसरी बढेको बेला अधिकांश अनुभवी लगानीकर्ताले सेयर बिक्री गरेका पाइएको छ।

तर अहिले उनीहरूले निकै सुस्त गतिमा मात्र सेयर खरिद गरिरहेको आकलन गर्न सकिन्छ । यसअघि बिक्री गरेकाहरू आक्रामक खरिद गर्नुभन्दा पनि ‘वेट एन्ड वाच’को रणनीतिमा बस्दा बजार सुस्त भएको केही जानकारहरूको भनाई छ ।

विशेषगरी संस्थागत, ठूला र अनुभवी लगानीकर्ताहरूले बजार बढेको बेला बिक्री गर्ने र घटेर तल्लो लेभलमा आएपछि खरिद गर्ने गर्छन् । यसर्थ, बजार घट्दै जाँदा लगानीका लागि जोखिम पनि कम हुँदै जान्छ। सस्तोमा पाइने भएपछि सबैथरिका लगानीकर्ता आकर्षित हुने र यसले अन्ततः सेयरको माग बढाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

असोजका लागि बैंकहरुले ब्याजदर थप घटाएका छन् । बैकिङ प्रणालीमा अधिक तरलता भएकाले यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले दिनहुँ जसो पैसा खिचिरहेको छ । यसकारण बजारले करेक्सन चक्र पूरा गरेपछि पुनः गति लिने सम्भावना देखिन्छ ।

समग्रमा हेर्दा सरकार पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएको छ । केन्द्रीय बैंकले सेयर बजार सुधारका लागि सहयोग पुग्ने गरी नीतिगत सुधारहरू गरिरहेको छ । ब्रोकरको सङ्ख्या बढेको छ भने यससँगै नयाँ लगानीकर्ताहरू पनि थपिन थालेको तथ्यांकले देखाएको छ । यी कारणहरूले सेयर बजारले करेक्सनपछि सकारात्मक लय समाउने अनुमान गरिएको हो ।

बजार घटी रहेको बेला अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको कार्यालयमा अनुगमन गरेका छन् । कर्मचारीको दक्षता, बजार देखिएका समस्या तथा नेप्सेलाई सुधारका लागि अर्थमन्त्री पौडेलले छलफल गरेर फर्किएका छन् । यसले बजार थप लयमा ल्याउने अपेक्षा आम लगानीकर्तामा पलाएको छ ।