काठमाडौँ। त बिहीबार रातिदेखि शनिवार साँझसम्म परेको अविरल वर्षाको कारण देशैभर बाढी पहिरोले वितण्डता मच्चाएको जटिल परिस्थिति र भएको ठुलो क्षति विषयमा नेपाल बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन (नेपाल बीमक संघ) बीच आइतबार साँझ छलफल भएको छ।
देशभर बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या यो समाचार तयार पार्ने समयसम्म १ सय ९३ जना पुगेको छ। देशैभरका विभिन्न जिल्लामा भएका क्षतिका विषयमा अर्बौँ रुपैयाँको बीमा दाबी पर्ने आंकलन गरिएको छ।
यसै सन्दर्भमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्सोरेन्सका सिइओ चंकी क्षेत्रीले दुर्घटनाको प्रकृति अनुमान भन्दा समेत बाहिर रहेको कारण क्षति र त्यस उपर कति दाबी पर्छ भन्ने अनुमानबारे यकिन नभइसकेको उल्लेख गर्दै बीमा कम्पनीसँग दाबीको सहजीकरणका लागि भन्दै केही फोनहरू नियमित रूपमा आएको जानकारी दिँदै आवश्यक कागजात उपलब्ध भएको खण्डमा एक हप्तादेखि १५ दिन भित्रै दाबी भुक्तानी गर्ने रफ्तारमा काम थालनी गरेको जानकारी दिएका छन ।
आर्थिक भ्वाईससंगको कुराकानीमा अध्यक्ष क्षेत्रीले ठुलो दुर्घटना भएको तर आवश्यक कागजात र घटनाको छानबिन लम्बिएको अवस्थामा अग्रिम रूपमा केही रकम दिने गरी काम गरेको जानकारी दिएका छन् । दशैंको मुखमा छौ, यस्तो बेला स्थानीय कार्यालयहरू बन्द हुन सक्छ, परिवार समेत गुमाएर बसेको मान्छेलाई आर्थिक अभावले अर्को पीडा दिन्छ यो हामीले महसुस गरेका छौ, यी सबै समस्यालाई ध्यानमा राखेर हामीले अग्रिम रकम भुक्तानी गर्ने सोचेका छौ, दिन्छौ पनि अध्यक्ष क्षेत्रीले प्रस्ट पार्दै भनेका हुन् ।
बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले आफूहरू दैनिक रूपमा घटनाको डाटा संकलन गर्न लागेको जानकारी दिएका छन् । हालसम्म ४ सय बढीको दाबी भुक्तानीबारे जानकारी आएको भएपनी यसको सङ्ख्या कति पुग्छ भन्ने यकिन भन्न सक्ने अवस्था नरहेको सुवेदीले जानकारी दिएका छन्। साथै दाबी भुक्तानीका लागि कार्यालय नै धाउनुपर्ने झनझनबाट मुक्त गराउन सामाजिक सञ्जाल मार्फत आवश्यक प्रोसेस गर्ने सकिने गरी काम अगाडि बढाएको जनाएका छन्।
नेपाल बीमक संघका महासचिव तथा नेको इन्सुरेन्सका सिइओ समेत रहेका अशोक खड्काले हाल उद्धारकै चरणमा रहेको कारण के कति क्षति भयो भन्ने विषयमा अझै निश्चित डाटा आउन नसकेको स्मरण गराउँदै दाबी भुक्तानीको सवालमा सकेसम्म सहज हुनेगरी काम गर्नका लागि आवश्यक निकायसँग समेत मसिनो गरी छलफल भएको जानकारी दिएका छन्।
पहिरो प्रभावित बीमितहरुलाई कसरी सहज रूपमा बीमा दाबी भुक्तानी दिने र क्षतिको विवरण संकलन छिटो छरितो रूपमा गराउन सर्भेयरलाई अलर्ट गराउने भन्ने विषयमा निकै सुष्मढङ्गले छलफल भएको छ । हालसम्म उद्धारकै काम चलिरहेको छ दाबी भुक्तानी पर्न थालेसँगै यसलाई कसरी दुख रहित र सरलढंगले भुक्तानी गर्ने भन्ने बारेमा हामीले गहिरो छलफल गरेका छौ खड्काले आर्थिक भ्वाइससँग भने ।
सडक, पुल, कृषि परियोजना, आयोजनाहरू, भवन, सवारी साधन र मानवीय क्षतिको विवरण आउन नै बाँकी छ । क्षेत्रगत विवरणहरू संकलनको तयारी भइरहेको छ। सबै निकायले आ -आफ्नो तवरबाट तथ्यांक निकाल्ने प्रयास गरिरहेका छन् ।
सही समयमा बीमितलाई बीमा दाबी भुक्तानी दिनु कम्पनीको दायित्व हो । विपतको बेलामा बीमितलाई सहजीकरण गर्नु बीमा कम्पनीहरूको उत्तरदायित्व हो । सो अनुसार नै बीमितलाई कसरी छिटो बीमा दाबी भुक्तानी दिन सकिन्छ भन्ने हामीले पहिलो प्राथमिकताको राखेका छौ, खड्काले भने।