काठमाडौँ। साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ। लगातार ओरालो यात्रामा रहेको शेयर बजारमा आज उछाल आएको हो ।

उक्त दिन बजार ११४.७० अंकले बढेर २६२३.५६ को विन्दुमा कायम भएको छ। नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८२ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा यो कम्पनी दोस्रो स्थानमा रहेको छ ।

साथै आज बजारमा बढोत्तरी आउँदा नेपाल फाइनान्सको २० करोड ७२ लाख १० हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १९ करोड ७२ लाख ७६ हजार रुपैयाँ, अपी पावर कम्पनीको १८ करोड १० लाख ६० हजार कारोबार भएको हो ।