काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा नेपाल आएका छन् । उनी २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागले जनाएको छ ।
उनीसँग एउटा टोली पनि नेपाल आएको छ । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
मंगलबार काठमाडौंको द्वारिकाज होटलमा बास बसेर बुधबार बिहान चितवनको मेघौली जाने कार्यक्रम रहेको पाइएको छ । विमानस्थलमा अवतरण गरेपछि मेरिअट होटलमा खाना खाएर उनीहरु राती द्धारिकाज होटलमा बस्न जाने जनाईएको छ ।
विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।
विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।
उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै आज काठमाडौं आइपुगेका हुन् । यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।