काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले प्रभावकारी रुपमा योजना निर्माणदेखि कार्यान्वयन गराउने विषयमा राष्ट्रिय योजना आयोगको कमजोर अनुगमनलाई सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको भूमिका प्रभावकारी नहुनुमा कार्यविधिमा आधारित भएर गरिएको काम भएको स्पष्ट पारे ।
उपाध्यक्ष श्रेष्ठले सोह्रौं योजनामा डिजिटल डेटावेस र इ–गर्भनेन्समा फड्को मार्ने गरी धेरै कुराको सम्बोधन गर्ने पनि बताए । उनले नेपालमा संरचनागत समस्या रहेको अवस्थामा अझै एक दशक बढी योजनाबद्ध विकासको आवश्यकता रहेको उल्लेख गरे ।
त्यस्तै योजना आयोगको भूमिका अनुगमन तथा मूल्यांकनमा भएको बताउँदै उनले आयोगको भूमिकालाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन ऐन चाँडो आउनुपर्ने बताए ।
ऐन आयो भने राष्ट्रिय योजना आयोगले गर्ने अनुमगमन मूल्यांकनमा अहिलेको अवस्था नरहने उनले बताए ।
उनले पन्ध्रौं योजनाको लक्ष्य पूरा गर्न नसक्नुमा कोभिड महामारी, रुस युक्रेन युद्धले अर्थतन्त्रमा पारेको नकारात्मक असर, अन्तर सरकारी निकायको बीचमा समन्वयन अभावलाई देखाए । आगामी १६ औं योजनामा विकासको फड्को मार्ने गरी काम हुने उनले दाबी गरे ।
उनले सोह्रौं योजनामा प्राकृतिक स्रोतहरु वनजंगल, ढुंगा, गिट्टी, बालुवा, पानी लगायतका प्राकृतिक साधनको विवेकशील प्रयोग गर्न चाहेको बताए ।