काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित सहकारी संघ/संस्थालाई तोकिएकै समय भित्र वार्षिक साधारण सभा गर्न सोको यथार्त विवरण बुझाउन निर्देशन गरेको छ । सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले आर्थिक वर्ष सकिएको बढीमा ६ महिना भित्र संस्थाहरूले साधारण सभा डाकी हिसाबकिताब पालिकामा बुझाउनुपर्ने व्यवस्थापन भएपनि यसो नगरिएको भन्दै मेयर बालेन शाहले विज्ञप्ति जारी गरेका हुन् ।
हालसम्म संस्थाको यथार्त विवरण पेस नगर्ने सहकारी संस्थालाई यथाशीघ्र रिपोर्ट बुझाउन आग्रह गर्दै मेयर शाहले अन्यथा रिपोर्ट नबुझाउने संस्थामाथि कानुन बमोजिम कडा कारबाही हुने समेत चेतावनी दिएका छन् ।
यसै अवसरमा मेयर शाहले सहकारीको समस्या र विकृतिबाट वचन सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई दुई दर्जन बढी सुझाव समेत दिएका छन् ।
‘बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रास्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट यस्तो अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु’ मेयर शाहले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
“ब्याजको लोभमा सहकारीमा लामो अवधिको ठूलो रकम बचत नगर्नुहोला”
सहकारी संस्थाहरुमा मेयर शाहको अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।
सदस्य/बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला |