काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको बताएका छन् । संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे । उनले भने, ‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं ।’

उनले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि जानकारी दिए ।