काठमाडौं । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालीको दशैँमा भेडाच्याङग्राको व्यापार राम्रो भएको छ ।
म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाण्डौलगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ ।
मुस्ताङमा यस वर्षको दशैँमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ ।
दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका अनुसार पाँच सय वटा भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो ।
मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङग्रा बेचेका । सरदर मूल्यअनुुसार १६ करोड रुपैयाँ बराबरको च्याङग्रा बिक्री भएको बताइएको छ ।
यसबर्षको चाडपर्वमा पाल्पा र जुम्लाबाट मात्रै करीब २४ करोड रुपैँया बराबरको खसीबोका खरिदबिक्री भएका छन् ।
पाल्पा जिल्लाबाट मात्रै यसवर्षको चाडपर्वमा नौँ करोड बढीको खसीबोका खरिदबिक्री भएका छन् । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका अनुसार जिल्लाका विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको हो ।
पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् ।
गतबर्ष पनि पाल्पाबाट १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो ।विगतमा च्याङग्रा महँगो हुँदा व्यापार घटेको थियो ।
यस्तै जुम्लाबाट पनि यस वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।
जिल्लाको सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको बताइएको छ ।
यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् ।
जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँतिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।