काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले नेपाली गलैँचा उद्योगमा बढाइएको मूल्य अभिवृद्धि कर फिर्ता गर्न माग गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली गलैँचा उद्योगमा पुरानै व्यवस्था कायम गर्न माग गरेको हो ।

संघले गलैँचा उद्योगमा लगाइएको कर तत्काल पुरानै व्यवस्था कायम नभए सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

सरकारले मूल्य अभिवृद्धिकर ऐन, २०५२ले गरेको व्यवस्थामा परिवर्तन गरी मूल्य अभिवृद्धिकर बढाउनु नेपाली गलैँचा उद्योगमाथिको प्रहार भएको संघले बताएको छ ।

नेपाली गलैंचा निर्यातको विगत ४ वर्षको तथ्यांक अध्ययन गर्दा कोभिडअघि रु. ७ अर्ब २९ करोड ८२ लाख ७८ हजार २१५ निर्यात रहेकोमा कोभिडको समयमा निर्यातमा १६.८५ प्रतिशतले ह्रास आई नेपाली गलैंचाको निर्यात रु. ६ अर्ब ६ करोड ८५ लाख ६६ हजार ५२६ मा पुग्न गएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा ३३.१७ प्रतिशतले वृद्धि भएर १० अर्ब ६२ करोड २६ लाख ८९ हजार ९१६ निर्यात भएको थियो ।

नेपाली गलैँचा उद्योग लघु, घरेलु तथा साना उद्योग भएको भन्दै गलैँचा उद्योगको उत्पादन स्रोतलाई करको दायरामा ल्याउन अव्यवहारिक रहेको संघको भनाई छ ।

आर्थिक वर्ष २०७९–८० मा भएको नेपालको कुल गाहस्र्थ उत्पादन (२.१६ प्रतिशत) वृद्धिमा पनि नेपाली गलैंचा उद्योगको भूमिका उल्लेखनीय रहेको संघको दाबी गरिएको छ ।