काठमाडौं । मानव जीवनमा आइपर्ने धेरैजस्ता जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार बीमा हो । प्रविधिको युगको विस्तार भएसँगै बीमा क्षेत्र पनि व्यापक हुँदै गइरहेको छ । योसँगै सक्षम तथा सफल बीमा अभिकर्ताहरूको खाँचो पनि बीमा कम्पनीहरूलाई परिरहेको हुन्छ ।
कतिपय मानिसहरूले बीमा अभिकर्ता पेसालाई झन्झटिलो र गाह्रो पेसाका रूपमा समेत लिने गर्दछन् । तर पुर्ख्यौली घर बाजुरा भई हाल बुटवलको सैनामैना नगरपालिकामा बस्दै आएका नारायणभक्त पाण्डेलाई भने यो पेसा नै प्यारो लागेको छ। बि.स. २०६२–२०६३ साल देखी निरन्तर रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा अभिकर्ताको रूपमा काम सुरु गरेका पाण्डे अहिले कम्पनीको सिनियर एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेका छन् ।
एउटै काममा लगाव राखेर काम गर्ने जो कोही मानिस पनि सफल हुन्छ भन्ने धारणा उनको छ । सानैमा आमा गुमाएका पाण्डेले आफ्नो पढाई पुरा गर्नका लागि धेरै मिहिनेत गर्नुपरेको हामीलाई सुनाए । एसएलसी पास गरेपछि बडिमालिका बोर्डिङ स्कुल मार्तडीमा पढाउने काम गरेका पाण्डेले +२ पास गरेपछि भने डोटी बहुमुखी क्याम्पस डोटीको सिलगढी मा स्नातक पढ्दै गर्दा जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति पाएर शैलेश्वरी निम्न माध्यमिक विद्यालय बाजुरामा पढाउने काम सुरु गरेका थिए ।
त्यसको केही समयपछि २०६२–०६३ को जनआन्दोलन सुरु भएपछि गाउँमा रहेका शिक्षकहरूलाई अप्ठेरो पर्न थालेपछि र स्कुलहरू पनि बन्द भएका कारण उनी बुटवल झरेका थिए । बुटवल पुगेपछि उनले बीमा अभिकर्ताको यात्रा सुरु गरे ।
आफ्नी श्रीमती र छोरासहित बुटवलमा आफ्ना जेठानसँग बसेर हाँटवजारमा ट्राउजरको व्यापार गरेर गुजारा चलाइरहेका उनलाई आफ्नै नाता पर्ने कसैले बीमा अभिकर्ता पेसाको बारेमा सुनाइदिएपछि आफूलाई पनि यसप्रति चासो बढेको उनले हामीसँगको कुराकानीका क्रममा सुनाए ।
त्यसपछि उनले बुटवलमै रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा गएर अभिकर्ता बन्नका लागि पुरा गर्नुपर्ने प्रक्रिया पुरा गरेर अभिकर्ता पेसामा आबद्ध भए ।
स्थानीय बजारसम्म पुग्नकै लागि कम्तीमा पनि ६–७ दिन लाग्ने बाजुराको दुर्गम गाउँमा मात्रै नभएर पश्चिमी क्षेत्रतिर नै बीमाका बारेमा नबुझेका स्थानीयलाई बीमाका बारेमा बुझाउँदै बीमा गराएको उनी सम्झन्छन् । ‘म बीमा अभिकर्ता भइसकेपछि एक जना साथीलाई लिएर बाजुराको गाउँ गाउँमा पुगेर बीमाको महत्त्वबारे बुझाए । बीमाको बारेमा बुझेपछि गाउँका मानिसहरू नागरिकता बनाउने टोली आउँदा नागरिकता बनाउनेहरूको भिड लागेजस्तै गरी बीमा गराउनेहरूको भिड लागेको थियो । त्यहाँ १०–१२ दिनको अवधिमा करिब ७–८ लाख जति पैसा कलेक्सन भएको थियो ।
जङ्गलको बाटो हिँड्न पर्ने अनि पहिला पनि लुटपाटका धेरै घटनाहरु भएको मैले सुनेको थिए । अनि म अलि सानै उमेरको पनि थिए । मोबाइल नै नभएको गाउँमा बैङ्क हुने त कुरै भएन् । सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको कम्पनीको खातामा पैसा जम्मा गरे । त्यत्रो पैसा बोकेर सदरमुकामसम्म एक्लै जानलाई डर लाग्यो, त्यसै कारणले मैले गाउँका एक जना भतिज नाता पर्नेलाई साथी लिएर हिँडेको थिए ।’ उनले हामीसँगको कुराकानीको क्रममा सुनाए ।
अहिलेको अवस्थामा त टेक्नोलोजीको बिकासले गर्दा हरेक कामहरू सहज भएको उनी बत्ताउँछन् । जसले अभिकर्ता पेसामा पनि धेरै सहज भएको उनको अनुभव छ । डकुमेन्टेसन, विलङ लगायत अरू धेरै कुराहरूमा टेक्नोलोजीको कारणले काम गर्न सहज भएको उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाए ।
अभिकर्ता पेसामा आबद्ध रहेर काम गर्दै गर्दा उनले देश तथा विदेशका विभिन्न स्थानहरूको भ्रमण गरिसकेका छन् भने कम्पनीले प्रदान गर्ने धेरै स्किमहरू पनि पुरा गरिसकेका छन् ।
शिक्षण पेसा छाडेर अभिकर्ता बनेका पाण्डे यस पेसाबाट हुने कमाइमा सन्तुष्ट छन् । जति धेरै व्यवसायलाई प्रवद्र्धन गर्न सक्यो उति धेरै कमाई हुने उनको बुझाई छ । ‘इन्स्योरेन्स क्षेत्रमा धेरै राम्रो कमाइ छ । बाजुराबाट बुटवलसम्म आईपुग्दासम्म जम्मा २५ सय रुपैयाँ मात्र भएको मैले अभिकर्ता बनेको ३ वर्ष भित्रमै बुटवलमा घडेरी किनेर घर समेत बनाए । यो नै मेरो लागि त ठुलो उपलब्धि हो नि ।’ उनले हामीसँगको कुराकानीका क्रममा भने ।
अभिकर्ता पेसाबाटै बुटवलमा एक बिघा जति जग्गा समेत जोडेका पाण्डेले शिक्षण पेसाभन्दा पनि अभिकर्ता पेसामै राम्रो कमाई देखेपछि शिक्षक पेसाबाट राजीनामा दिएर अहिले पूर्णतया यसै पेसामा आबद्ध रहेर काम गरिरहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्समा बीमितले पाउने वोनसदर सहित यो कम्पनीको ग्राहक सेवा समेत छिटोछरितो र सजिलो भएकोले यसै कम्पनी मार्फत बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
उनी भन्छन्, ‘कुनै पनि बीमा कम्पनीलाई मानिसहरूको पहुँचमा र्पुयाउनमा अभिकर्ताको नै मुख्य हात हुन्छ । त्यस कारण अभिकर्ता आफैमा सक्षम, मिहिनेती र अध्ययनशील हुनुका साथै लगनशील पनि हुनुपर्छ ।’