काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार लक्षित स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ ।
बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज एक सूचना प्रकाशित गरी तिहारका लागि बिक्री हुने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय रहेको छ। यसअगाडि यी मेडालियनको मूल्य २ हजार रुपैयाँ कायम गरिएको थियो ।
साथै, १५ ग्राम टक्कसार यान्त्रीकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यारोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ । यसैगरी २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५५ सय रुपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रुपैयाँ पुगेको छ।
महाशाखाले २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिन मात्र बिक्री खुला गर्ने भएको छ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।
यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ। प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ।
सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रूपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ।