काठमाडाैं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच सम्झौता भएकाे छ । फोनपे र नमस्तेपेबीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएकाे हाे ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सम्झौतासँगै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रुपमा क्यूआर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रुपमा स्वागत गर्न पाउँदा हामी खुसी लागेकाे बताए ।

उनले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रुपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्छन्। हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ। प्रयोगकर्तालाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ। नमस्तेपेसँगको साझेदारीले हाम्रा ग्राहकलाई अझै बढी भुक्तानी विकल्प मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।’

त्यस्तै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्तालाई १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैँ प्रयासरत छौँ। यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’