काठमाडौँ। चालु आवको पहिलो त्रैमासमा अपि पावर कम्पनी लिमिटेडले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनी अघिल्लो आवको सोही अवधिसम्म ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो ।
पछिल्लो समयमा भने कम्पनीले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको हो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत् बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो। कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ ।
आम्दानीसँगै कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री-वितरण खर्च ४ करोड २६ लाख , ह्रास कट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ। ५ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानीमा वृद्धि भएको छ । अघिल्लो आवमा ०.२९ रुपैयाँले ऋणात्मक रहेको ईपीएस १२.५६ रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ कायम भएको छ ।






