काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपातमा निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो १ वर्षमा मात्रै वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ०.६४ प्रतिशत बिन्दुले बढेको छ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात ४.०४ प्रतिशत छ। २०८१ को असोज मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसतमा खराब कर्जा अनुपात ३.४० प्रतिशत थियो ।
बैंकहरुबाट आक्रामक रुपमा कर्जा प्रवाह हुन सकेको छैन भने ऋण असुली पनि प्रभावकारी भएको छैन । फलस्वरुपः बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दो क्रममा रहेको छ । निष्क्रिय कर्जा घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न रणनीति अपनाए पनि खासै सफल हुन सकेका छैनन् ।
विगत लामो समयदेखि आन्तरिक अर्थतन्त्रमा रहेको सुस्तता कायम नै रहेको छ । यसको असर बैंक तथा वित्तीय संस्थामा पनि पर्दै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५ बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि रहेको छ । नेपाल इभेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र सिटिजन बैंकको खराब कर्जाको अनुपात ५ प्रतिशतभन्दा छ । त्यस्तै, ९ बैंकको खराब कर्जाको अनुपात ४ प्रतिशत माथि पुगेको छ ।
हिमालयन बैंकको ४.९८, कुमारी बैंकको ४.९६, प्रभु बैंकको ४.९४, प्राइम कमर्सियल बैंकको ४.८६, कृषि विकास बैंकको ४.७८, ग्लोबल आइएमई बैंकको ४.६७, एनआइसी एसियाको ४.२४, नबिल बैंकको ४.२४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत खराब कर्जाको अनुपात पुगेको छ।
यता, अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ बैंकको खराब कर्जा अनुपात भने घटेको छ । खराब कर्जा अनुपात घट्नेमा नेपाल एसबिआई, एभरेष्ट र कृषि विकास बैंक रहेका छन् ।