काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भारी मतका साथ विजयी बनेका छन् । अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको अमेरिकी चुनावमा ट्रम्पले अपत्यारिलो ढङ्गले आफ्नो जीत निकालेका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए। त्यसपछि पुनः यस वर्षको चुनावमा उम्मेदवारी दिएका उनले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि राष्ट्रपतिका लागि जीत निकालेका छन् ।

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट हुन्छन् र बहुमतका लागि २७० भोट आवश्यक पर्छ । एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले कम्तीमा २ सय २४ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ ।

४७ औँ राष्ट्रपतिमा बिजेता बनेका डोनाल्ड ट्रम्पको चुनौती भने सामान्य छैन । ट्रम्पले आफ्ना प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुने दाबी गरेका थिए । विश्वव्यापी रूपमा अमेरिकी प्रभावको मूल्यमाथि प्रश्न उठिरहेको छ । क्षेत्रीय शक्तिहरू आफ्नै सुरमा छन्, निरङ्कुश शासकहरूले भिन्नै गठबन्धन गरेका छन् भने गाजा, युक्रेन र अन्यत्र भइरहेका विनाशकारी युद्धहरूले वाशिङ्टनको भूमिकाबारे असहज प्रश्न जन्माएका छन्।

नव निर्वाचित राष्ट्रपति ट्रम्पले ठुला शक्तिहरूबिच टकराबको शीतयुद्ध काल यताकै सबभन्दा धेरै जोखिम बेहोरिरहेको विश्वमा काम गर्नु बाध्यता खडा छ । युद्धहरूको मारमा राष्ट्रपति नियुक्त भएका ट्रम्पलाई युद्ध अन्त्य गर्ने काम निकै कठिन हुन जाने विश्व विश्लेषकहरूको बुझाई छ ।  “विनाशकारी युद्धहरू लम्बिएका छन्, जहाँ महाशक्तिहरूबिचको प्रतिस्पर्धा तेज भएको छ भने मध्यम शक्तिहरू उदाइरहेका छन्,” युक्रेनको जस्तो युद्धमा विभिन्न शक्तिहरू तानिएका छन् भने सुडानका जस्ता सङ्घर्षहरूमा क्षेत्रीय खेलाडीहरूका स्वार्थ टकराएका छन्, अर्कातिर अमेरिकाले उसको उच्च नैतिक धरातल गुमाउँदै गएको छ। “युक्रेनमा रुसी कारबाहीलाई एउटा मापदण्डबाट हेर्ने र गाजामा इजरेलको कारबाहीलाई अर्कै मापदण्डबाट हेर्ने उसको शैलीलाई बाँकी विश्वले नियालिरहेका छन्।

ट्रम्पको जीतले “गाजा तथा अन्यत्र इजरेललाई उसले चाहेजस्तो कारबाही गर्न थप सहज बनाइदिने बुझाई छ। युक्रेनको मामिलामा चाहिँ उनले किएभलाई बेवास्ता गर्दै मस्कोसँग कुनै समझदारी गर्न सक्ने सङ्केत दिएको चर्चा सेलाउन पाएको छैन। ट्रम्पले अब ‘शान्तितर्फ फर्कने र मानिस मारिने क्रम रोकिनु पर्ने’ समय आएको बताएका छन्। तर उनले इजरेली नेता बेन्जामिन नेतान्याहुलाई ‘जे गर्नुपर्छ गरे हुन्छ’ पनि भनेका खबर बाहिरिएका छन् । रिपब्लिकन उम्मेदवार ट्रम्प आफूलाई शान्ति प्रवर्तक भएको भन्दै गर्व गरेको बताउँदै आएका छन् ।

यता ‘अमेरिका पहिले’ भन्ने ट्रम्पको नीतिअन्तर्गत उनले निरन्तर दिँदै आएको धम्कीमा चीन तथा अन्य व्यापारिक साझेदारमाथि उच्च शुल्क लगाउने कुरा प्रमुख छन्। तर ट्रम्पले चीनका नेता सी जिन पिङसँग उनको व्यक्तिगत सम्बन्धको पनि चर्चा चलिरहेकै छ। चीनको मामिलामा रिपब्लिकन र डेमोक्र्याट दुवै कठोर छन्। अमेरिकाको विश्वव्यापी प्रभावलाई बेइजिङले छायामा पार्न खोजेको दुवैको आरोप पनि कायम छ । यसर्थ बेइजिङसँगको व्यापार र आगामी बाटो कसरी तय गर्लान् भन्ने अर्को चासोको विषय बनेको छ ।

त्यस्तै नव निर्वाचित राष्ट्रपति ट्रम्पलाई जलवायुमा देखिएको ठुलो सङ्कट निराकरणको भार थपिएको छ । “जलवायु र वातावरण सङ्कटको ठुलो महत्त्वका कारण अमेरिकाको निर्वाचन त्यहाँका नागरिकका लागि मात्र नभई सम्पूर्ण संसारकै लागि महत्त्वपूर्ण छ,” तापमान वृद्धिमा एक डिग्रीको सानै अंशले पनि जलवायु परिवर्तनका डरलाग्दा प्रभाव रोक्न अनि मिल्टन जस्ता आँधी सामान्य बन्ने स्थिति नबनोस् भन्ने विषयलाई विशेष रूपमा हेरिएको छ ।

यस अगाडि मिल्टन र हेलेन जस्ता आँधीले विनाश मच्चाइ रहेको समयमा ट्रम्पले जलवायु आपत्कालसँग जुझ्न बनाइएका वातावरणीय योजना तथा नीतिहरूलाई ‘इतिहासकै सबभन्दा ठुला ठगी’को संज्ञा दिएर गिज्याएका थिए। पहिलो कार्यकालमा जस्तै यसपालि पनि उनले अमेरिकालाई सन् २०१५ को प्यारिस जलवायु सम्झौताबाट अलग्याउने धेरैले ठानेका छन्। तर जलवायु क्षेत्रमा भइरहेका प्रगतिको गतिलाई ट्रम्पले रोक्न नसक्ने विश्लेषकहरूको धारणा छ । समग्रमा राष्ट्रपति ट्रम्पमाथि देशभित्रको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका समस्याको पहाड ठडिएको छ । उनको कार्यशैली र प्रगतिको परिणाम कस्तो आउला भन्ने विश्व समुदायको चासोको विषय बनेको छ ।