काठमाडौँ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज ९बिहीबार० साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ दिँदै मनाउँदै छन् । शुक्रवार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

छठ पर्वको अवसरमा जनकपुरधामसहित मुलुकका नदी, पोखरी, नहरलगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ । छठका अवसरमा जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, गोसाइकुण्डलगायत दर्जनौं पोखरी सिँगारिएका छन् ।

छठ पछिल्लो समय समावेशी पर्वको रूपमा विकास भइरहेको छ । यस पर्वमा डोम जातिले बनाउने ‘सुपली ९कुनिया०देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ । जनकपुरधामको छठ हेर्न देश–विदेशका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् । यो वर्ष पनि आएका छन् ।

मनाउने विधि

छठ निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन निराहार व्रत बस्नुपर्छ । पानी पनि खान पाइँदैन । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । दोस्रो दिन दिनभरि उपवास रही राति ‘खिर’ बनाइ देउतालाई चढाएर खाने गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै मुख्य दिनमा ठेकुवा, भुसवाजस्ता कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ । अनि साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।

छठ नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी ९अस्ताउँदो० सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानीपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ पर्वको समापन गरिन्छ । अर्घ दिन हरारौं हात एकैचोटि सूर्यतिर फर्काएर नमन गरिन्छ । छठ पूजामा साँझको समयमा सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिन्छ । सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’मा पनि अर्पण गर्ने लोक–परम्परा रहेको छ ।

सूर्य देवतालाई अर्पण गरिएका प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ । तर नदी किनारस्थित घाट रहेका ठाउँमा असुरक्षित हुने ठानेर प्रसाद घरमै लगिन्छ । भोलि बिहान सूर्य उदाउनु अगावै पुनः त्यो प्रसाद घाटमा पुर्‍याइन्छ । बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गरिन्छ ।

छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिँदै आएको छ । आज बैंक वित्तीय संस्था, विद्यालय र शेयर बजार बन्द हुने भएको छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताएका छन् ।

“सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो”, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।”