काठमाडौँ । कम्पनीहरूले पुस मसान्तसम्म साधारण सभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा उल्लेख छ । सोही कारण कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्दै साधारण सभा आह्वान गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई लाभांश घोषणा गर्दै कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् ।

गत आर्थिक वर्षसम्मको नाफाबाट यो वर्ष सूचीकृत ३५ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । ३५ मध्येबाट १५ कम्पनीको सेयर खरिदमा लाभांश पाउने अवसर कायम छ । १५ मध्ये सानिमा बैंक र आशा लघुवित्तको लाभांशका लागि आवेदन दिने समय बुधवार सकिएको छ । यद्यपि बाकी १३ वटाको लागी अवसर कायम रहेको छ ।

हालसम्म लाभांश घोषणा गरेकामध्ये दुई एभरेस्ट र सिटिजन्सको बुक क्लोज भइसकेको छ, बाँकी ५ बैंकको सेयर खरिद गर्दा भने अझै लाभांशको अवसर छ। त्यस्तै लाभांश घोषणा गरेका ८ माइक्रोफाइनान्समध्ये ६ वटाको सेयर खरिद गर्दा अझै लाभांशको अवसर रहेको छ भने २ वटाको बुक क्लोज सकिएको छ ।

हाइड्रोपावरमा १२ कम्पनीमध्ये ४ वटाको सेयर खरिद गर्नेले अझै लाभांश पाउने छन् । बाँकी ८ कम्पनीको बुक क्लोज भइसकेको छ । कम्पनीले लाभांश घोषणा गरिसकेपछि साधारण सभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारण सभामा भाग लिने हक रहन्छ । साधारण सभा हुनुभन्दा २१ दिन पहिले नै सार्वजनिक सूचना जारी गरी सभाबारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।

बुक क्लोजपछि बस्ने साधारण सभाले लाभांश पारित गर्दछ। साधारण सभाबाट लाभांश पारित भएपछि नगदका हकमा केही दिनभित्रै लगानीकर्ताले आफ्नो बैंक खातामा पाउँछन् । बोनस सेयरका हकमा भने समय लम्बिने गरेको छ ।