शहरमा हुर्किएका वा हामीजस्तै केही थान सपना र पारिवारिक जिम्मेवारीको बोझ बोकेर शहर बसेकाहरूलाई यहाँको कोलाहल वातावरण छोडेर रमणीय ठाउँ हेर्न घुम्न मन कसो पो मन नलाग्दो हो र । एउटा सुन्दर प्रकृति विभिन्न हेर्न लायक बस्तु र दृश्यहरूको सङ्गम हो । विभिन्न नदीनाला, ताल तलैया, डाँडाकाँडा, हिमाल पर्वत, पाखा पखेरा, हिउँचुली, छहरा, झरना जस्ता प्राकृतिक सम्पदाले प्रकृतिलाई झनै शुन्दरताको खानीको रूपमा चिनाएको छ ।
हिमाल हेर्नु प्रकृति नियाल्नु शब्दमा सुन्दा जति सामान्य लाग्छ त्यो प्रत्यक्ष महसुस गर्नु त्यसको सयौँ गुणा मजेदार छ । कागजमा बाघको चित्र हेर्नु र चिडियाखानामा प्रत्यक्ष बाघ नै देख्नु त भिन्नाभिन्नै कुरा रहेछन् । बाच्नु भनेको जीवनको अनेकौँ आयामहरूको महसुस गर्नुपनी हो, ताल तलैया, डाँडाकाँडासँग मितेरी गाँस्दै मन खोलेर आकाशलाई छानो, पहाडलाई सिरानी बनाएर प्रकृतिसँग हराउनु आफैलाई महसुस गर्नुपनी हो । सबै सबै थकान र जिम्मेवारीलाई थाती राख्दै शून्य मस्तिष्क बोकेर पहाड झैँ पखेटा फिँजाएर उडेको स्वतन्त्र एक चरी झैँ उड्न रहर कसलाई हुँदैन र हो त्यही एउटा आभास मैले गरेको छु। यो यात्रा मेरो सिकाइको यात्रा हो, स्मरणीय क्षणहरूको संयोजन हो ।
हालसम्म नजिकबाट हिमाल देख्ने मौका नपाएको मैले नर्थ अन्नपूर्ण बेस क्याम्प जाने अवसर साथीहरूबाट प्राप्त गरे । करिब १५ वर्ष भन्दा बढी क्याम्पिङ ट्रेकिङ एक साहसिक पर्यटकीय क्रियाकलाप हो भनेर बिद्यार्थीहरुलाई पढाउँदै आएको तर स्वयम ले कहिले पनि अनुभव गर्ने अवसर नपाएको अवस्थामा ७ जना साथीहरूको समूहमा म्याग्दी जिल्लामा अवस्थित नर्थ एबीसी क्याम्प जाने निर्णय गरियो । मोटिभेसन के हो भने भन्ने विषय समेत मैले यो ट्रेकिङ ग्रुपबाट सिक्ने अवसर पाए । हाल सम्म साहसिक क्रियाकलापको नाममा र्याफ्टिङवाहेक कुनै पनि क्रियाकलापमा सहभागी नभएको म यस पदयात्रामा जानका लागि पनि साथीहरूले प्रेरणा प्रदान गरेका थिए ।
“यदि तपाईँले हिँड्न सक्नुभएन भने पनि हामीमध्ये एक जना फर्किन्छौ ।” भन्ने साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका एचआर प्रमुख लेखनाथ पौडेलको भनाइले यात्रामा साहस दियो ।
मानिसहरू विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेर कृतिमान कायम गरिरहेको अवस्थामा यो नर्थ एबीसी पुगेर ठुलै पुरुषार्थ गरे भनेर भन्न खोजेको त होइन । तर ४० वर्षको उमेर कटाउँदासम्म कहिले पनि ट्रेकिङ गएको अनुभव नगरेको मलाई यस ट्रेकिङ सम्पन्न गर्नाले छुट्टै ऊर्जा प्राप्त गरेको छु ।
सानो भन्दा सानो उकालो हिन्न नि गारो हुन्थ्यो मलाई । तर पनि “आँटेपछि जान सकिन्छ, तपाई हिन्न सक्नुहुन्छ ।” भनेर हिन्नको लागि हौसला प्रदान गर्ने मेरा साथीहरू यस पदयात्राका लागि मेरा प्रेरणाका श्रोतहरू हुन् ।
भाइटिकाको दिन बहिनीको हातवाट टीका लगाइ सकेर काठमाडौंको कलङ्कीबाट नेपाल राष्ट्र बैक, नेपालगन्ज शाखाका शाखा प्रमुख देवेन्द्र गौतम सर, सँगै कार्यरत दीपक बि.क. र सी ए निरञ्जन शाह र म गरी हामी ४ जना काठमाडौँबाट पोखरातर्फ प्रस्थान गरेका थियौँ । मुग्लिनमा पर्खेर बस्नुभएका अर्का सिए, प्रदीप शर्मा सहित ५ जना पोखरा पुग्यौ ।
पोखरामा पर्खेर बस्नुभएका नेपाल राष्ट्र बैकमै कार्यरत विमल किशोर गिरी र सँगै कार्यरत सन्तोष पङ्गेनीसहित हामी जम्मा ७ जनाको टोली अन्नपूर्ण बेस क्याम्पसम्मको यात्राका लागि तयार भयौँ । त्यो रात हामी सबै जनाले पोखरामै बिताएर भोलीपल्ट बिहानै पदयात्राको लागि म्याग्दीको तातोपानी तर्फ अघि बढ्यौँ । हाम्रो गाडीलाई तातोपानीमा नै छोडेर भाडामा अर्को गाडी लिएर हामीहरू डरलाग्दो बाटो हुँदै हुँ खोलातर्फको यात्रा अघि बढायौ । हुँ खोला तर्फ जाँदा गाडीको गन्तव्य सकिन करिब २ किलोमिटर मात्रै बाँकी रहँदा अत्यधिक उचाइका कारणले बिचैमा गाडी रोकिदा डिजेल सकियो भनेर हामी सबैको सातो पुत्लो उड्यो । ड्राइभरको क्षमता र तत्काल उनले लिएको निर्णयले हामी सबैलाई अचम्मित बनायो । “उकालोमा गाडी चढ्दै गर्दा ठाडो भएकोले तेल तल भई सकिएको देखाएको हो अव हामी ब्याकमा जानुपर्छ” भनेर ड्राइभरले भन्दा हामीलाई हावा गफ दिएको जस्तो लाग्यो ।
तर उनले जे निर्णय गरेर अगाडी बढे त्यो साँघुरो बाटो र बाटोमा रहेका ठुला ठुला ढुङ्गा र बाटोको साइडमा रहेका चट्टाने पहाड र अर्कोतिर रहेको नदी सहितको भीरै भीर । त्यसमाथि घुमाउरो बाटोमा उनले हामी सबैलाई गाडीभित्रै राखेर ब्याक गरेर गाडीलाई कसरी चलाए होलान् यो भने हाम्रो लागि सोचकै विषय रह्यो । तर उनले हामीलाई हुँ खोलासम्म पुराएरै छाडे ।
हुँ खोला पुगिसकेपछि गाडीको यात्रा सकेर अब हिन्न सुरु भयो । जब यात्रा सुरु भयो तब नसोचेको उकालो सुरु भयो । रात पर्न थाल्यो त्यसमाथि पानी पर्न थालेकोले झन् अप्ठ्यारो भयो, मन आत्तियो, छटपटिए । हिन्न सकिन् । बिचैमा फर्किने निर्णय गरे । आफैले यात्राबाट गिभ अप गरौँ की जस्तो लाग्यो । यो कुरा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका आइटी प्रमुख सन्तोष पङ्गेनीलाई सुनाए । तर उहाँको हौसला, साथ र भनाइले गर्दा पुन हिन्न जोस आयो । तत्काल यात्रा टुङ्ग्याउने निर्णयबाट पछि हटे ।
उहाँ भन्नुहुन्थ्यो, “पानी परेको छ । बाटो चिप्लो छ । हिन्न अप्ठ्यारो छ तर हामीलाई हतारो के छ । के हामी दौडको प्रतिस्पर्धामा छौ र बिस्तारै हिँड्दै गन्तव्य तिर अघि बढने हो । आत्तिन पर्ने अवस्था केही छैन । आज नपुगे भोली पुगिन्छ । आराम गर्दै गर्दै जाने हो । फर्के पनि त हिँड्न नै पर्छ । गारो त सबैलाई हुन्छ नि तर आफ्नो क्षमता अनुसार बिस्तारै नआत्तिकन अगाडी बढ्ने हो । अगाडी गइसकेकाहरू पनि गन्तव्यमा पुगिसकेपछि पर्खने नै हुन् ।” उहाँको यस्तै कुराहरूले जसरी नि सक्छु यात्राबाट गिभ अप गर्दिन भन्ने साहस मिल्थ्यो । र यात्रालाई निरन्तरता दिन्थे ।
त्यसपछि यात्राले अझ नयाँ रूप लियो । बाटो चिप्लो र साँघुरो थियो । उकालो थियो । मेरा लागि झन् कठिन भयो । तर पनि खुसीसाथ यात्रा अघि बढ्यो । पहिलो दिन सन्धिखर्क भन्ने ठाउँमा क्याम्प बनाई रात कटायौँ । साथीहरूको गफ, उत्प्रेरणात्मक कुराहरू र हाँस मजाकले रात राम्रैसँग कट्यो । न फोनको नेटवर्क, न बिजुली, न कुनै घर, न कुनै बस्ती त्यस्तो अनकन्टार ठाउँ । तर त्यहाँको प्राकृतिक सुन्दरताले जोसुकैको मन लोभ्याउँथ्यो ।
कलकल बगेको निलो पानी, स–सना बुट्यानहरू नजिकबाट देखिने हिमाल, विशाल पहाड, टाढा टाढा टाढासम्म देखिने प्राकृतिक सुन्दरता, ठाउँ ठाउँमा रहेका झरनाहरू देख्दा नेपाललाई प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भनेर यसै भनिएको होइन रहेछ जस्तो लाग्यो ।
यात्रा सुरु भए देखी अन्त्यसम्म नदिमा बगीरहेको कलकल पानीको मन्द आवाजले छुट्टै सङ्गीतमय आनन्द दिरहेको थियो । यसरी प्रकृतिसँग रमाउँदै दोस्रो दिनको बसाई पञ्च कुण्डको छेउमा रह्यो । भरिया भाइहरूले पकाएर दिएको खाना, सुप, दाल, चाउचाउ अति नै मिठो थियो ।
प्रत्येक बसाइमा उनीहरूले पानी तताउँदै थर्मसमा हाल्न लगाउँथे । एक नजीकपनको अनुभूति थियो । पञ्च कुण्डको बस्दाको त्यो हिमालको काखमा रहेको त्यो तालको वर्णन जति गरे पनि त्यो अपुग नै रहन्छ । जोसुकै पनि त्यसको सुन्दरताबाट मोहित हुन्छ ।
पञ्च कुण्ड बसाइको भोलीपल्ट थप ४५ मिनेट जतिको हिँडाइपछि अन्नपूर्ण बेस क्याम्प पुगियो । त्यहाँ पुगेपछि हिमाल सँगैको देखिने ताल हेरेपछि त्यो ठाउँ छोड्न कसैलाई मन लाग्दैन होला ।
त्यसपछि पञ्च कुण्ड तालबाट बिहान करिब ८ फर्किने निर्णय गरियो र बिचमा पर्ने बिस्केट मेला भन्ने ठाउँमा आराम गरी खाना खायौँ । बिस्तारै तल झर्दै गर्दा बाटोमा पर्ने फुटफुटे भरनामा फोटो खिच्दै रमाइलो र्गयौ ।
त्यसपछि हुँ खोला तर्फ नै प्रस्थान र्गयौ । त्यहाँ वाट तातोपानीमा आएर विश्राम र्गयौ । यात्रामा साथीहरूको साथ र हौसला ड्राइभरको त्यो अत्यन्त डरलाग्दो बाटोमा गाडी चलाउँदाको अनुभव र तातोपानीमा नुहाउँदाको र बाटोमा पर्ने मादी खोलामा नुहाउँदाको अनुभवले हाम्रो यात्रालाई थप रोमाञ्चक बनाएको थियो । जुन कुराहरू सायद यो जिन्दगीमा बिर्सनको लागि त गाह्रै पर्छ होला ।
सुजन बावु अधिकारी
प्रमुख कम्पनी सचिव साङग्रिला डेभलपमेन्ट बैंक