काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवा समेत नियमित उडान शुरु गर्न सिचुवान एयरलाइन्सलाई आग्रह गरेका छन् । ५ दिने चीन भ्रमणमा रहेका श्रेष्ठले शुक्रबार सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग भेटवार्ता गर्दै पोखरा र भैरहवामा व्यवसायिक उडान शुरु गर्न आग्रह गरेका हुन् । सँगै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौंमा समेत चीनको विभिन्न सहरसँग जोड्ने गरि उडान संख्या वृद्धि गर्न चुइलाई आग्रह गरेका छन् ।
सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु–ल्हासा–काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडौँ सिधा उडान भएको छ । छेन्दु–काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ । यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ’ मन्त्री श्रेष्ठले भने ।
नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए ।
‘नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्रयाउन हवाइ सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ’ उनले भने ।
सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गरे । उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन समेत गरेका छन् ।