सामाजिक सुरक्षा कोष नेपालको संविधानले श्रमिकको रूपमा परिभाषित गरेका सबै श्रमिकहरूको सामाजिक सुरक्षा गर्नको लागि स्थापना भएको कोष हो । यो कोषले औपचारिक, अनौपचारिक वैदेशिक तथा स्वरोजगारमा रहेका सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने काम गर्दै आएको छ ।

कोषले सातौँ सामाजिक सुरक्षा दिवस मनाउने तयारी गरिरहेको छ । यसै अवसरमा आर्थिक भ्वाइसका सम्पादक बिजय फुयाँलले कोषले गरिरहेका काम, कोषको आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, कविराज अधिकारीसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

सामाजिक सुरक्षा कोष भनेको के हो ?
नेपालको संविधानले श्रमिकको रूपमा परिभाषित गरेका सबै श्रमिकहरूको सामाजिक सुरक्षा गर्नको लागि स्थापना भएको कोष नै सामाजिक सुरक्षा कोष हो । यो कोषको स्थापना सामाजिक सुरक्षा कर काट्न सुरु गरे देखी अर्थात् २०६७ साल चैत्र ७ गते भएको हो । त्यसपछि बि.स. २०७४ मा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएपछि सो ऐनले दिएको अधिकार प्रयोग गर्दै श्रमिकको योगदानमा आधारित रहेर सामाजिक सुरक्षाको हक सुनिश्चित गर्दै योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने काम यो कोषले गर्दै आइरहेको छ ।

औपचारिक, अनौपचारिक, वैदेशिक तथा स्वरोजगारमा हुने सबै क्षेत्रका श्रमिकहरू  अनलाइनबाटै यो कोषमा जोडिन सक्छन् ।

यो कोषमा आबद्ध हुने प्रक्रिया के छ ? कसरी आबद्ध हुन सकिन्छ यो कोषमा ?
यो कोषमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका सबै श्रमिकहरू आबद्ध हुन सक्छन् । यसको लागि कोषको वेबसाइटमा गएर आफ्नो जानकारी दर्ता गराएर वा कोषको कार्यालयमै आएर पनि यसमा आबद्ध हुन सकिन्छ । औपचारिक, अनौपचारिक, वैदेशिक तथा स्वरोजगारमा हुने सबै क्षेत्रका श्रमिकहरू अनलाइनबाटै यो कोषमा जोडिन सक्छन् ।

यो कोषको मुख्य अवधारणा के हो ?
नेपालको संविधान २०७२ को धारा ३४ मा हरेक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ । यस्तै संविधानले पनि हरेक श्रमिकहरूको सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेबमोजिम यो कोषको अवधारणा अघि सारिएको हो । जसको कार्यान्वयनको लागि सामाजिक सुरक्षा ऐन, सामाजिक सुरक्षा नियमावली तथा सामाजिक सुरक्षा कार्यविधीहरु छन् तिनकै आधारमा यो कोष कार्यान्वयनमा आएको हो ।

पैसाकै कारण जीवन नचल्ने अवस्थाको अन्त्य गर्नु यो कोषको मुख्य उद्देश्य हो ।

सामान्य रूपमा बुझ्ने कुरा भनेको योगदानमा आधारित सामाजिक सुरक्षाको हकको ग्यारेन्टी गर्नको लागि यो कोषको अवधारणा अगाडी सारिएको हो । यो योगदानमा आधारित भएको कारणले निःशुल्क भने पाइदैन् ।

यो कोषको आवश्यकता किन महसुस गरियो ? यो कोषको प्रमुख उद्देश्य के हो?
यो कोषको मुख्य उद्देश्य, एउटा श्रमिकको जीवनमा विभिन्न जोखिमहरू आउन सक्छन् । जस्तै बिरामी पर्ने, अङ्गभङ्ग हुनसक्छ, मृत्यु हुनसक्छ अथवा बुढेसकाल लागेर काम गर्न नसक्ने हुनसक्छ, र जागिर नभएर बेरोजगार भएर बस्ने दिन आउन सक्ने अवस्थामा श्रमिकहरूले भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने हो । यस्तै पैसाकै कारण जीवन नचल्ने अवस्थाको अन्त्य गर्नु यो कोषको मुख्य उद्देश्य हो ।

यो कोषमा आबद्ध भएर कोही व्यक्ति धनी हुने होइन, शेयर बजारमा लगानी गरेजस्तो यो कोष होइन । एक सय रुपैयाँ लगानी गरेर २ सय रुपैयाँ कमाउँछु भन्नेको लागि यो कोष होइन । एउटा श्रमिकलाई जस्तोसुकै अवस्था आए पनि उसको जीविका चलाउन सहज होस भन्ने उद्देश्यले यो कोषको स्थापना गरिएको हो ।

यो कोषमा आबद्ध भएका व्यक्तिहरूले के कस्ता सुविधाहरू पाउन सक्छन् ?
सामाजिक सुरक्षा कोषले श्रमिक अङ्गभङ्ग भएर काम नै गर्न नसक्ने अवस्था भएपछि, उसलाई आजीवन भत्ता दिने गर्दछ । अझ एक हिसाबले भन्ने हो भने श्रमिकले काम नै नगरी घरमा बस्दा पनि कोषले तलब दिन्छ । जसको कारणले श्रमिकलाई आयको निरन्तरता हुने गर्दछ ।

यस्तै महिला श्रमिकको हकमा सुत्केरी भएको अवस्थामा शिशु स्याहार खर्च कोषले प्रदान गर्ने गर्दछ । यस्तै औषधि उपचार र बिदाको व्यवस्था समेत गरिदिएको छ । यसका साथै परिवारमा कमाउने मानिस अर्थात् योगदानकर्ताको नै मृत्यु भएको खण्डमा पनि श्रमिकको आश्रित परिवारलाई उसको तलबको ६० प्रतिशत, १८ वर्षमुनिका बालबालिका भएको हकमा श्रमिकको तलबको ४० प्रतिशत गरेर तलब बराबरको रकम कोषले प्रदान गर्ने गर्दछ ।

यस्तै श्रमिकले काम नपाएर बेरोजगार भएको अवस्थामा ८.३३ प्रतिशत रकम पाउने व्यवस्था यो कोषले गरेको छ । यो चाहिँ अर्को काम नपाउन्जेलको लागि भन्ने छ । तर नेपालको हकमा भने यो स्किम अहिले नै लागु गर्न सकिएको छैन । कोष अलि बलियो भएपछि यो स्किम पनि लागु गर्ने तयारी हामीले गरेका छौँ । वृद्धावस्था भएर काम गर्न नसकेको अवस्थामा त उसले यो कोषबाट पेन्सन लिने कुरा त छदै छ ।

यस्तै यो कोषले प्रदान गर्ने अर्को सुविधा भनेको सापटी हो । श्रमिकले योगदान गरेको पैसाबाट चलाउनुर्पयो भनेचाहिँ कोषले प्रदान गरेको यो अर्को सुविधा हो ।

देशमा रहेका लाखौँ सङ्घ संस्थाहरूमध्ये अझ कतिपय यो कोषमा जोडिएको देखिँदैनन् । तिनीहरूलाई कोषमा आबद्ध गर्न किन नसकिएको हो ?
नेपालको हकमा धेरै सङ्घसंस्थाहरू आबद्ध नभएको भन्ने पक्कै होइन । तर कतिपय सङ्घसंस्थाहरू तपाइले भनेजस्तै यो कोषमा आबद्ध हुन सकेका छैनन् । यसमा धेरै कारणहरू छन् । जस्तै नेपालको श्रम ऐन र कानुनले न्यूनतम पारिश्रमिक १७ हजार ३ सय र सामाजिक सुरक्षा नभई काम गर्न पाइँदैन भनेको छ । तर धेरै सङ्घ संस्थाहरूले श्रमिकलाई न्यूनतम पारिश्रमिक दिएका हुँदैनन् ।

सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्याङ्क हेर्दा औपचारिक क्षेत्रका मात्रै १९ हजार ७२९ रोजगारदाता यो कोषमा आबद्ध भएका छन् ।

यो पनि एउटा कारण हो । अर्को कुरा धेरै सङ्घ संस्थाहरूमा यो कोषलाई श्रमिकको हितमा मात्रै छ भन्ने गलत बुझाई रहेको छ । यो कारणले पनि धेरै सङ्घसंस्थाहरू यो कोषमा आबद्ध हुन सकेका छैनन् ।
तर पनि सामाजिक सुरक्षा कोषको पछिल्लो तथ्याङ्क हेर्दा औपचारिक क्षेत्रका मात्रै १९ हजार ७२९ रोजगारदाता यो कोषमा आबद्ध भएका छन् । यस्तै ५ लाख ४१ हजार ३९२ जना श्रमिकहरू यो कोषमा जोडिएका छन् । करिब करिब १८ लाख औपचारिक श्रमिकहरू भएको हाम्रो देशको हकमा यो सामाजिक सुरक्षा कोषमा आबद्ध भएको यो सङ्ख्या ३० प्रतिशत हो । यसमा धेरै ठुलठुला कर्पोरेट हाउसहरू पनि आबद्ध छन् । बाँकी रहेका सङ्घसंस्थाहरू पनि बिस्तारै आबद्ध हुने क्रम जारी नै छ ।
सामाजिक सुरक्षा कोषमा हालसम्म कति रकम सङ्कलन भएको छ ? उक्त रकमको परिचालन तथा व्यवस्थापन कसरी भइरहेको छ ?
अहिलेसम्म यो कोषमा ६८ अर्ब १० करोड रकम जम्मा भएको छ । ८२ हजार ४ सय ३५ जनालाई औषधी उपचारमा मात्रै एक सय४५ करोड दाबी भुक्तानी दिएका छौँ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ खर्च गरेका छौ ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत कोषले १८ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ । वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत कोषले ९ सय ७० करोड भुक्तानी गरिसकिएको छ ।

कोषमा जम्मा भएको ६८ अर्ब रकममध्ये ११ अर्ब रकम योगदानकर्ताको सेवा सुरक्षाको लागि खर्च भइसकेको छ ।

भनेपछि कोषमा जम्मा भएको ६८ अर्ब रकममध्ये ११ अर्ब रकम योगदानकर्ताको सेवा सुरक्षाको लागि खर्च भइसकेको छ । बाँकी रहेको रकम भने नेपाल सरकारले सामाजिक सुरक्षा कोषकै लागि पास गरेको लगानी कार्यविधिको आधारमा हामीले लगानी गरिरहेका छौ ।
हाम्रो मुख्य लगानी भनेको मुद्दती नै हो । त्यसको अतिरिक्त सरकारी ऋणपत्र, डिभेन्चर, म्युचल फन्ड र योगदानकर्ता सापटीमा लगानी रहेको छ । सापटीमा करिब करिब ५ अर्ब जति रकम लगानी भएको छ ।

यस कोषमा श्रमिकहरू आबद्ध हुँदा सम्बन्धित संस्थाहरूलाई के फाइदा हुन्छ ?
सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा रोजगारदाता कम्पनीलाई पनि धेरै फाइदाहरू हुन्छन् । श्रम ऐनले व्यवस्था गरेको सञ्चय कोषको रकम दिने, उपदान बापतको रकम दिने, एक लाख बरावरको औषधि उपचार खर्च दिने, ७ लाख बरावरको दुर्घटना बीमा दिने समयमै पारिश्रमिक दिने लगायतका धेरै विषयहरू छन् ।

यसको लागि रोजगारदाताले श्रमिकले पाउने तलबको जम्मा २० प्रतिशत कोषलाई प्रदान गरेमा सञ्चय कोष, उपदान, एक लाख बरावरको औषधि उपचार खर्च र ७ लाख बरावरको दुर्घटना बीमा दिने दिनेजस्ता अन्य धेरै दायित्वबाट मुक्ति पाउँछ । यी यस्ता यावत कुराहरू श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएपछि रोजगारदाताले यो सबै कुराहरू श्रमिकले सामाजिक सुरक्षा कोषमार्फत पाउँछ ।

कोषमा आबद्ध नभएको खण्डमा माथिका सबै दायित्व रोजगारदाता स्वयमले बेहोर्नुपर्ने हुन्छ ।  यस्तै अन्य विभिन्न कारणले रोजगारदातालाई प्रदान गर्नुपर्ने आर्थिक भार समेत कोषमा आबद्ध भएमा कोषले नै बेहोर्ने गर्दछ ।

अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूले यो कोषतर्फ खासै चासो देखाएको जस्तो देखिदैन् ? उनीहरूलाई आबद्ध गराउनको लागि कोषको योजना के छ ?
सबैभन्दा पहिले त सामाजिक सुरक्षा कोषमा बैङ्क तथा वित्तीय संस्था जोडिएका छैनन् भन्नु नै गलत छ । सामाजिक सुरक्षा कोषमा २३ प्रकारका रोजगारदाताहरूआबद्ध भएका छन् । जसमध्ये ८ प्रकारका रोजगारदाताहरूको ५ प्रतिशतभन्दा बढी श्रमिकहरु यो कोषमा आवद्ध भएको छन् । जसभित्र बैङ्क तथा वित्तीय संस्था पनि पनि पर्दछन् ।

हामीले हरेक वर्ष यो कोषमा सबैभन्दा बढी श्रमिकहरूलाई कोषमा आबद्ध गराउने रोजगारदाता कम्पनीलाई सम्मान समेत गर्ने गरेका छौ । जसअनुसार हामीले लक्ष्मीसनराइज बैङ्कलाई त पुरस्कृत नै गरेका छौ ।

अदालतमा मुद्दा विचाराधीन रहेकोले फैसला पर्खेर बसेको कारणले पनि एक दर्जन बैङ्कहरूमात्रै यो कोषमा आबद्ध हुन सकेका छैनन ।

बैङ्कहरूको पनि विभिन्न प्रकारहरू रहेका छन् । क वर्गमा पर्ने सरकारी बैङ्कहरू यो कोषमा आउने कुरा ऐच्छिक छ अहिलेसम्म आउनुपरेको छैन । केही बैङ्कहरू त यो कोषमा आबद्ध छन् । तर एक दर्जन बैङ्कहरूचाहिँ यो कोषमा आबद्ध हुन सकेका छैनन् । यो कुरा भने पक्कै हो । त्यसमा पनि केही पुराना घटनाको कारणले अदालतमा मुद्दा परेको छ ।

केही समय पहिले मात्रै बैङ्क तथा वित्तीय संस्थाहरूकै लागि भनेर यसको कार्यविधि नै संशोधन भएको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेकोले फैसला पर्खेर बसेको कारणले पनि एक दर्जन बैङ्कहरू यो कोषमा आबद्ध हुन सकेका छैनन् । नयाँ कुराहरूलाई ग्रहण गर्न केही समय लाग्छ नै, मलाई लाग्छ त्यसै कारणले पनि धेरै सङ्घसंस्थाहरू यो कोषमा आबद्ध हुन नसकेका हुन । यो समस्या बिस्तारै कम हुँदै जान्छ ।

स्थानीय निकायसँग समन्वय गरेर काम गर्ने योजना कोषको छ की छैन ?
अहिले देशमै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । जसमध्ये स्थानीय सरकार भने जनतासँग प्रत्यक्ष रूपमा जोडिएको छ । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, सहकारीजस्ता सबै कुरामा जनतासँग जोडिएर नै धेरै कामहरू गर्न सक्छ । त्यस कारणले स्थानीय सरकारले रोजगारदातालाई कोषमा आबद्ध हुनको लागि निर्देशन नै पनि दिन सक्छ ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूको अभिलेखीकरण राखी दिएर र अर्को अनौपचारिक क्षेत्रमा रहने श्रमिकहरूलाई केही योगदान रकम सहयोग गरिदिएर पनि स्थानीय सरकारले कोषलाइ सहयोग गरिदिन सक्छ ।

अर्को कुरा भनेको सरकारी कार्यक्रम पनि भएको कारणले हामी स्थानीय निकायलाई छाडेर अन्त जान सक्दैनौ । स्थानीय तहहरूमा रहेका रोजगार सेवा केन्द्रहरूले पनि सामाजिक सुरक्षा कोषको काममा बिभिन्न किसीमले सहयोग गरिदिन सक्छन् ।

जस्तै अनौपचारिक क्षेत्रका श्रमिकहरूको अभिलेखीकरण राखी दिएर र अर्को अनौपचारिक क्षेत्रमा रहने श्रमिकहरूलाई केही योगदान रकम सहयोग गरिदिएर पनि स्थानीय सरकारले सहयोग गरिदिन सक्छ ।

कोषलाई प्रविधिमैत्री रूपमा अगाडी बढाउनका लागि कस्तो तयारीहरू गरिरहनुभएको छ ?
सामाजिक सुरक्षा कोष अहिले नै एकदम प्रविधिमैत्री छ । यो कोषमा अनलाइनबाट गर्न नमिल्ने २–४ ओटा कुराहरू बाहेक अरू सबै कामहरू अनलाइवाट नै हुन्छन् । केही सम्झौताहरू अथवा अन्य विभिन्न खालका तमसुकहरू नै बनाउनुर्पयो भने त्यो काम भने अनलाइनबाट गर्न अलि गाह्रो नै हुन्छ ।

हामी प्रविधिमैत्री रूपमा काम गरिरहेको भएर नै थोरै कर्मचारीहरूबाट पनि प्रभावकारी कार्यसम्पादन गर्न सकिरहेका छौ । तर समय सापेक्ष प्रविधिहरूमा पनि सुधार गर्दै जाने कुराहरू पनि आउँछन् नै ।

यस्तै योगदानकर्ताहरूको मागअनुसारका केही सुविधाहरू थप गदै जाने कुराहरू पनि आउँछन् । यी यस्ता कुराहरूमा पनि हामीहरू अघि बढ्दै छौ । यो कुरामा हामी संवेदनशील नै छौ ।

यो कोषमा आबद्ध हुनको लागि स्वरोजगार व्यक्तिले कति रकम योगदान गर्नुपर्छ ? के कस्ता सुविधाहरू योगदानकर्ताले यो कोषबाट प्राप्त गर्न सक्छ ?
यो कोषमा आबद्ध हुने स्वरोजगार श्रमिकहरूको हकमा पनि औपचारिक क्षेत्रका श्रमिकहरू जुन सुविधा पाउँछन्, स्वरोजगार श्रमिकले पनि त्यहीँ सुविधाहरू प्राप्त गर्ने हो । नामै लिएर भन्नुपर्दा ४ ओटा स्किमहरू छन्, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना यो कोषले दिँदै आएको छ ।

योगदान रकमको कुरा गर्नुपर्दा स्वरोजगार श्रमिकले कम्तीमा ३ हजार ३५४ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । कुनै स्वरोजगार श्रमिकले यो रकम कोषमा जम्मा गर्नुभयो भने योगदानकर्ताको आफ्नो, श्रीमान् वा श्रीमती र १८ वर्षमुनिका छोराछोरीहरूको एक आर्थिक वर्षमा एक लाख बरावरको औषधी उपचार खर्च कोषले बेहोर्ने गर्दछ ।

औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना यो कोषले दिँदै आएको छ । त्यस्तै योगदानकर्ताको ७ लाखसम्मको दुर्घटना बीमा, अङ्गभङ्ग भएमा, वा काम गर्न नसक्ने अवस्था आएमा आजीवन पेन्सन कोषले दिने गर्दछ । कारणवश अकालमा मृत्यु भएको खण्डमा योगदानकर्ताको परिवारले पेन्सन पाउने र बालबच्चाको पढाइ खर्च पनि कोषले बेहोरिदिने गर्दछ ।

कोषमा धेरैभन्दा धेरै सङ्घसंस्था तथा श्रमिकहरूको पहुँच पुराउनका लागि कोषले के कस्ता योजनाहरू ल्याउने तयारी गरिरहेको छ ?
अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १०२ अनुसार कोष अगाडी बढी रहेको छ । यस्तै श्रमिकको जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिमहरूमा दिने सुविधाहरू र श्रमिकको जीवनस्तर खस्किन नदिने कुराहरू मुख्य हुन् । यिनै कुराहरूमा आधारित रहेर कोषले के के सुविधा थप गर्न सक्छ भन्ने कुरामा अध्ययन गरिरहेको छ ।

यस्तै यो कोष सञ्चालन कार्यविधिमा पनि के कस्ता कुराहरू थप गर्न सकिन्छ भन्ने विषयमा पनि अहिले हामी छलफल गरिरहेका छौ । अहिले भने हामी जे सुविधा दिइरहेका छौ त्यसमा बढी भन्दा बढी आबद्धता बढाउनेतिर नै केन्द्रित रहेका छौ ।

दूर दराजका श्रमिकहरूसँग यस कोषको पहुँच र्पुयाउनको लागि कोषले के कस्ता कामहरू गरेको छ ? आम श्रमिकहरूले यो कोषको बारेमा कसरी थाहा पाउन सक्छन् ?
यो कोषका बारेमा हरेक पालिकाहरूमा रहेका श्रम मन्त्रालय अन्तर्गतका रोजगार सेवा केन्द्रहरूले पनि सामाजिक सुरक्षा कोषको बारेमा बताइदिन सक्छन् । अर्को भनेको केही व्यक्ति यो कोषमा आबद्ध छ भने उसले औषधी उपचार बापतको रकम दाबी गर्नुपरेमा अस्पतालमा गएर आफ्नो परिचयपत्र देखाइदिए मात्र पुग्छ ।

अस्पताल प्रशासनले नै अनलाइनबाट क्लेम गरिदिने गर्दछ । यो सँगै हाम्रो काठमाडौँ उपत्यका बाहिर पनि शाखा सम्पर्क कार्यालयहरू रहेका छन् । विराटनगर, सिमरा, जनकपुर, पोखरा, नेपालगन्ज र बुटवलमा यो कोषका शाखाहरू रहेका छन् । यस्तै यसै आर्थिक वर्ष भित्रै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि शाखा विस्तार गर्ने योजना कोषले बनाएको छ ।