काठमाडौं । मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रा.डा. शिवशरण महर्जन चुनावी मैदानमा उत्रिएका छन् ।

“कीर्तिपुरको सम्पन्नता- हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ प्रा.डा. शिवशरण महर्जनले कीर्तिपुरलाई शिक्षा, स्वास्थ्य, र विकासको आदर्श नमुना बनाउन प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै उनले जनताको आवश्यकता र चाहनालाई बुझेर जिम्मेवारीपूर्वक सेवा गर्ने दृढ अठोट पनि व्यक्त गरेका छन् ।

प्रतिष्ठित समाजसेवी तथा शिक्षाविद् भनेर समेत चिनिने महर्जनले जीवनको चार दशकभन्दा लामो समय शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन, र सामाजिक विकासका क्षेत्रमा समर्पित गरेका छन् । यस्तै २०३३ सालमा शिक्षण पेसा सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरू, महेन्द्र रत्न क्याम्पस, सुर्खेत क्याम्पस, पृथ्वीनारायण क्याम्पस, र अन्ततः त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसमा ज्ञान र शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनी त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा विभागका प्रमुखको भूमिकामा समेत रहिसकेका ब्यक्ति हुन्।
उनले कृतिपुरमा सञ्चालित मंगल बहुमुखी क्याम्पस, उज्ज्वल हाई स्कूल, र मंगल उच्च शिक्षा विद्यालयको अध्यक्ष पदमा रहँदा शैक्षिक सुधारका प्रयासलाई अघि बढाएका थिए ।

प्रा.डा.महर्जनले कीर्तिपुरमा खानेपानी समस्याको समाधानका लागि समेत योगदान गरेका छन् । २०५२ सालदेखि तत्कालीन नेपाल खानेपानी संस्थानको सहयोगमा घरघरमा निजी धाराबाट खानेपानी वितरण सुनिश्चित गर्न उनले नै नेतृत्व गरेका थिए ।महर्जन चिथुबिहार सामुदायिक विकास समितिका संस्थापक अध्यक्ष पनि हुन् । कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र सल्लाहकारको भूमिकामा रहँदै आएका महर्जनले सहकारी अभियानलाई सुदृढ बनाउन समेत भुमिका निर्वाह गरेका छन् ।

सहिद स्मारक कलेजको संस्थापक सदस्यका रूपमा पनि उनले शिक्षा र सामुदायिक विकासलाई अगाडि बढाउन योगदान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या विभाग (कीर्तिपुर) र भौतिक शिक्षा विभाग (सानोठिमी) का अध्यक्ष पदमा रहँदा पनि महर्जनले स्वास्थ्य र शारीरिक शिक्षाको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका खेलेका छन् ।

उनले स्वस्थ शिक्षा महासंघको अध्यक्ष र कीर्तिपुर खेलकुद विकास समितिका सल्लाहकारका रूपमा रहेर खेलकुद र स्वास्थ्य विकासमा पनि सक्रिय योगदान पर्याएका छन् । यस्तै नेपालभरकै पहिलो जनस्तरबाट लगानीमा कीर्तिपुर यातायात सेवा सञ्चालन गराउने अभियानमा पनि उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।