काठमाडौं । पछिल्ला दुई दिनदेखि नयाँ राहदानी बनाउने काम ठप्प भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया अनिश्चित कालका लागि ठप्प भएको हो ।
यसले गर्दा तुरुन्तै राहदानी बनाएर विदेश जानुपर्ने प्रक्रियाहरू सबै प्रभावित भएका छन् ।  राहदानी विभागका अनुसार आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको छ ।
प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर सेवा बन्द गरिएको विभागको भनाई छ । विभागले शुक्रवार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको समेत उल्लेख गरेको छ ।
समूहले कम्तीमा ९ मङ्सिर सम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकालेको पत्रमा उल्लेख गरिएको छ ।