काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

केन्द्रीय बैंकले केही साता भित्र मौद्रिक नीतिको पहिलो समीक्षाको तयारी गरिरहेको समयमा लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको केही जानकारहरुको भनाई छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अकंले घटेर २६६७.४० बिन्दुमा कायम भएको छ। आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो।

यसदिन ११ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको ०.३७ प्रतिशत, पर्यटन समूह ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ । विशेषज्ञहरूका अनुसार, जोखिम भार घटाउने निर्णय भयो भने सेयर बजारले सकारात्मक गति लिन सक्नेछ। यसले लगानीकर्ताको मनोबललाई बलियो बनाउन मद्दत गर्नेछ । नियामक निकाय सबै सकारात्मक रहेको बेला बाधा गर्ने नीति सुधार हुने आश लगानीकर्तामा रहेको छ ।

सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेकाले लगानीकर्ताका लागि सकारात्मक वातावरण सिर्जना गरेको छ । ब्याजदर निकै तल्लो विन्दुमा आएको बेला यसरी नेप्से लगातार घट्नुपर्ने ठोस कारण देखिंदैन । तर धेरैजसोले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा र धितोपत्र बोर्डको अध्यक्ष चयनलाई पनि बजार घटाइको कारण मानिरहेको देखिन्छ ।