काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ।
जागरण सभामा फोहोर गरेको भन्दै महानगरले आइतबार जरिवाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो।
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले महानगरको टोलीलाई आग्रह गरेको हो ।
साथै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन केन्द्रीय कार्यालयले महानगर टोलीलाई आग्रह गरेको हो।
महानगरले फोहर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १ लाख जरिवाना तोकिएको बताएको थियो ।








