काठमाडौँ। सधैँ चर्चामा रहिरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् ।
महर्जनको समर्थन गर्दै धरानबाट काठमाडौँ आएका मेयर साम्पाङले कीर्तिपुर नगरपालिका बासिन्दाको घरदैलोमा पुगेर महर्जनलाई भोट दिन आग्रह गरिरहेका छन्।
धरानका मेयर साम्पाङले आफूलेझै नगरप्रति समर्पित भएर काम गर्ने इमानदारता र क्षमता राजमानमा देखेकै कारण उनको समर्थन गरेको जनाएका छन् । चुनाव प्रचारका लागि जनताको घरदैलोमा पुगेका साम्पाङले स्वतन्त्रहरूलाई काम गर्न कसैको दबाबमा बस्नु नपर्ने भएको कारण स्वतन्त्रको जीतले मात्रै कीर्तिपुरको विकास सम्भव भएको भन्दै भोट अपिल गरेका छन् ।
सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू एक ठाउँमा जुटिरहेको देखिएको छ ।








