काठमाडौँ । सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक)आबद्ध भएका छन् ।
७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति रहेको छ ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषमा हालसम्म १७ लाख ९७ हजार ६४० जना योगदानकर्ता आबद्ध भएका छन् । भने १९ हजार ७६९ रोजगारदाता समेत आबद्ध भएका छन् ।
जसमा १२ लाख ५३ हजार ६१५ जना वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् । कोषमा हाल ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको कार्यकारी निर्देशक अधिकारीले बताए । कोषले स्वास्थ्य उपचार, पेन्सन लगायतका सुविधाका लागि ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
‘पैसाकै कारण जीवन नचल्ने अवस्थाको अन्त्य गर्नु कोषको मुख्य उद्देश्य हो’(अन्तर्वार्ता)
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मंगलबार कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुराको जानकारी गराएका हुन् ।
अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भने ।
त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।








