काठमाडौँ । दशैँतिहार मान्नको लागि गाउँ जानुभएकी हाम्री भाउजू गाउँबाट फर्किन अझै केही समय लाग्छ भनेपछि मलाई तनाव परिरहेको थियो । भक्तपुर डेरा, अनामनगर अफिस, काठमाडौँको चोक चोकमा हुने जाम छिचोलेर घर पुग्दा साँझको करिब साढे ८ नै बज्थ्यो । अब त्यो वेलामा कतिखेर खाना पकाएर, खाएर सुत्नु। त्यसै कारणले मलाई अलि पिर परिरहेको थियो । यसैबीचमा हाम्रो दाइले अनलाइनबाट खाना मगाउने सुझाव दिनुभयो । गुगलमा गएर अनलाइन फुड डेलिभरीको बारेमा खोज्दा साक्षात्कार भयो, लाटोकोसेरोसँग ।
२४ सै घण्टा काठमाडौँ उपत्यकाभित्र जुनसुकै ठाउँमा पनि खाना डेलिभरी गर्ने लाटोकोसेरोको बारेमा थप जान्न मन लागेपछि हामी आर्थिक भ्वाइसको टोली लाटोकोसेरोलाई भेट्न ललितपुरको कुपण्डोल पुग्यौँ । ‘तपाईँलाई थाहा छ ? लाटोकोसेरो निदाउदैन् । निदाउला तर उ प्राय रातिमा बढी सक्रिय हुन्छ नि । हो हामी पनि २४सैँ घण्टा सेवा दिने भएकोले कम्पनीको नाम लाटोकोसेरो राखेका हौँ ।’ लाटोकोसेरोकी सञ्चालक सुशीला उपाध्यायले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भनिन् ।
सुशीलाले विशेष गरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुराउने उद्देश्य स्वरूप लाटोकोसेरो फुड सञ्चालनमा ल्याइएकी हुन् । खास गरी बेकरी प्रोडक्ट्सलाई बढी प्राथमिकतामा राखेको लाटोकोसेरोले खाना, खाजा, तथा पेय पदार्थका साथै अडर अनुसार अन्य खानाका परिकारहरू समेत २४सै घण्टा डेलिभरी गर्ने गरेको छ ।
काठमाडौँको बानेश्वरस्थित आफ्नै घरबाट बेकरी चलाउँदै आइरहेकी सुशीलाले कोरोनाको बेलामा सबैतिर भएको लकडाउनले गर्दा मानिसहरू बाहिर गएर फरक स्वादको खाना खान नपाएको अवस्थामा फुड डेलिभरी मार्फत केही हदसम्म भए पनि उनीहरूको इच्छा पुरा गर्ने उद्देश्यले लाटोकोसेरोलाई सञ्चालनमा ल्याएकी थिइन् ।
यो सिलसिला कोरोना लकडाउनका कारण सुरु भएको हो। ‘कोरोनाको कारण सरकारले लगाएको लकडाउनको कारण बन्द भएका होटल खुल्ने अवस्था थिएन। अरू ग्राहकले खोजेको सामग्री घरमै पुर्याइदिने अर्थात् होम डेलिभरीको सेवा अन्य अन्य व्यवसायमा आइसकेको थियो । तर कहिलेकाहीँ बाहिर होटेलतिर गएर स्वाद फेरेर खाना खान खोज्नेहरूको लागि कुनै विकल्प थिएन । कहिले कसो अल्छी लागेको छ, तर खाना पकाउने जाँगर चलेको छैन । भन्ने ग्राहकहरूको लागी हामीले बेकरी प्रोडक्टस सँगै खानाका परिकार समेत डेलिभरी दिन सुरु गरेका हौँ ।’ शुसीलले हामीसँगको कुराकानीको क्रममा सुनाइन्।
लाटोकोसेरोले आफ्नै भान्छामा अर्डर अनुसार खाना तयार गरेर स्वच्छ र स्वस्थ तरिकाको खाना तथा खाजा डेलिभरी गर्ने गर्दछ । त्यसको लागि हामीसँग करिब २) जनाको काम गर्ने जनशक्ति रहेको छ । लाटोकोसेरोले डेलिभरी गर्ने खानाका परिकारसहित बेकरी परिकार र पेय पदार्थ घरमै अर्डर गर्नका लागि मोबाइल एप्सबाट, फोनकलाबाटै गर्न सकिन्छ । यस्तै अनलाइनमा लाटोकोसेरो फुड्स डटकमबाट पनि अर्डर गर्न सकिन्छ । जसको लागि हाफ पेमेन्ट भने पहिल्यै गर्नुपर्ने शुसीललो बताइन् । लाटोकोसेरोले खानामा भेज, मसरुम, चिकेन, फिस, मटन, पोर्कका परिकार डेलिभरी गरिदिने गर्दछ । यस्तै खाजा र खानाका सेटका साथै बिरयानी, पिज्जा, बर्गर, पास्ता, सुप, केक, कुकिजहरुको डेलिभरी गर्ने काम यसले गरिरहेको छ ।
सुशीलाका अनुसार लाटोकोसेरोले सकेसम्म छिटो डेलिभरी दिने गरेको छ । ‘ठाउँअनुसार बढीमा ४५ देखी १ घण्टाभित्रमा डेलिभरी भइसक्छ । अर्डरमा रातिकै बढी छ । बेलुका सात बजेदेखि बिहान पाँच बजेसम्म धेरै आउँछ । खाना र पेय पदार्थ दुवैको उत्तिकै माग हुन्छ । हामीसँग पेय पदार्थहरू आफैसँग छैन , तर अर्डर गरेअनुरूप हामीले डेलिभरी चाहिँ दिने गर्छौ।’ उनले हामीसँगको कुराकानी क्रममा भनिन् । खानाको गुणस्तरमा कुनै कमीकमजोरी नहुने उनको दाबी छ । भक्तपुरको चाँगुनारायण र काठमाडौँको गोकर्ण, साँखु अनि पश्चिममा काठमाडौँको नागढुंगा, दक्षिणकाली, कीर्तिपुरबाट पनि खानाको अर्डर आउने गरेको उनको दाबी छ ।
आफूले गरेको लगानी र भइरहेको आम्दानीबारे खुलेर कुरा गर्न नचाहे पनि अहिले भइरहेको आमदानीबाट आफू खुसी नै रहेको सुशीलाको भनाई छ । एउटा महिला भएर यत्तिसम्मको कम्पनी चलाउन सक्नु उदाहरण नै भएको उनको भनाई छ । आगामी दिनहरूमा कम्पनीको सेवा विस्तारका लागि तयारी गरिरहेको पनि उनको भनाई छ । यस्तै सङ्घर्ष तथा मिहेनत गर्न चाहने जोसुकैलाई पनि आफूले सकेको सहयोग गर्ने सुशीलाको भनाई रहेको छ । राज्यका नीति नियमहरूका कारणहरूले गर्दा युवा शक्ति विदेश पलायन हुनुपरेको भन्दै व्यवसायमैत्री नीति राज्यले लिन सकेको खण्डमा देशमै केही गर्न सकिने उनको भनाई छ ।