काठमाडौँ । नेकपा (एमाले) ले दरबारमार्ग पश्चात् आफ्नै कार्यकर्ताले त्यहाँ भएको फोहोर सफा गरेको दाबी गरिरहेको समयमा काठमाडौँ महानगरले दुई ट्रक फोहोर संकलन गरेर व्यवस्थापन गरेको पुष्टि गरेको छ ।
मंसिर ८ गते दरबारमार्गमा भएको कार्यक्रममा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवानाको निर्णय गरेको छ । त्यस जरिवाना पत्रलाई महानगर टोलीले बुझाउन पार्टी कार्यालय च्यासल पुगे पनि एमालेले प्रक्रियागत रूपमा नरहेको र आफूहरू आयोजक नभएको भन्दै आयोजकलाई पत्र बुझाउन आग्रह सहित पत्र लिन अस्वीकार गरेको थियो ।
त्यसपछि महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ एमालेले कार्यक्रममा गरेको फोहोर संकलनको अवस्थाबारे सो क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीलाई समेत महानगरपालिकाले सोधपुछ गरेको छ । महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौँ वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो।
मेनेजमेन्टले बुधवार महानगरलाई जवाफी पत्र पटाउँदै उत्तः दिन दरबारमार्ग क्षेत्रमा फोहर मैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको उल्लेख गरिएको छ ।
पत्रमा सार्वजनिक संवेदनशीलता भएका स्थानहरूबाट कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको उल्लेख छ ।
जानकारी पत्रमा भनिएको छ, ‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ ।’
फोहोर संकलन कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौँ महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको समेत पत्रमा उल्लेख छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरूले ६।७५ टन क्षमताका ट्रिपरहरू प्रयोग गरी २ ट्रक फोहर मैला संकलन गरी बन्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेका थिए’, पत्रमा भनिएको छ ।