काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ११ महिनाको ग्याप पश्चात् अध्यक्षका रूपमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । नव नियुक्त अध्यक्ष श्रेष्ठको जिम्मेवारीमा ठुलो भारी रहेको कतिपय विश्लेषकहरूको भनाई छ । बोर्डको अध्यक्ष नियुक्त भएसँगै बजार चलायमान हुन थालेको छ । लामो समयदेखि रोकिएको कामले गति लिन थालेको छ भने केही निजी क्षेत्रले बोर्डबाट विभिन्न किसिमको अपेक्षाहरू समेत गर्दै आएका छन् । यस विषयमा नवनियुक्त बोर्ड अध्यक्ष श्रेष्ठले के कस्ता किसिमको काम गर्नुपर्ला वा तपाइहरूको अपेक्षा र सल्लाह के हुन सक्छन् भनेर आर्थिक भ्वाइसले नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, र शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेललाई सोधेका छौ । प्रस्तुत छ ढकाल र फुलेलको धारणा ।
तुलसीराम ढकाल
हामी लगानीकर्ताले ११ महिनाको अन्तर पश्चात् अभिभावक पाएका छौ यसर्थ हामी प्रशन्न छौ अध्यक्ष जी लाई सफल कार्यकालका निमित्त आर्थिक भ्वाइस मार्फत नै शुभकामना दिन चाहन्छौ । नव नियुक्त अध्यक्ष श्रेष्ठमाथि निकै ठुलो चाप छ भन्ने हामीले महसुस गरेको छौ। यो चापको बिचमा हामी लगानीकर्ता संघ(संस्थाको समेत सहकार्य हातेमालो हुन आवश्यक छ भन्ने हाम्रो मान्यता पनि छ । लामो समयदेखि नेतृत्व विहीन बनेको धितोपत्र बोर्डले नेतृत्व पाएसँगै स्वाभाविक रूपमा हाम्रा केही माग र अपेक्षा त जरुर हुने नै भए ।
पहिलो विषय हामी मौद्रिक नीतिको समीक्षाको मुखैमा छौ । मौद्रिक नीतिको समीक्षाका क्रममा समन्वय गरेर अगाडी बढ्न मेरो सुझाव रहन्छ । यो सँगै जोडिएर आउने र हामीले लामो समयदेखि बोल्दै आएको रिस्क वेटेजको विषय पनि हो । हाल १२५ प्रतिशतको रिस्क वेटेजलाई १०० प्रतिशतमा झार्नु तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने छ भन्ने लाग्छ ।
बजारमा प्रशस्त लगानीयोग्य रकम हुँदा समेत आम लगानीकर्ताको मनोबल बलियो बन्न सकेको अवस्था छैन त्यसकारण त्यतातिरपनि ध्यान दिँदै उहाँहरूलाई प्रशिक्षणको प्रबन्ध गर्दै अगाडि लैजानुपर्छ भन्ने लाग्छ। त्यस्तै, मौद्रिक समीक्षा सार्वजनिकको मुखैमा रहेकोले शेयर धितो कर्जामा १५ करोडको सीमालाई हटाउन उहाँले पहलकदमी गर्नुपर्ने देखिन्छ। बैंक वित्तीय संस्थाले लगानी गर्न नपाइरहेको सन्दर्भमा यदि बैंकलाई शेयर खरिद बिक्री गर्न दिने हो भने पुँजी बजार र बैंक दुबैलाई राम्रो हुने भएकाले त्यतातिर समेत सोच्नुपर्ने आवश्यकता देखिएको छ ।
त्यस्तै, बैंक वित्तीय संस्थामा पर्याप्त मात्रामा पैसा थुप्रिएको छ । त्यसलाई शेयर बजारसँग जोड्नको निमित्त वा माथि उल्लेख गरेझैँ बैंक वित्तीय संस्था र पुँजी बजारबिचको सम्बन्ध स्थापित गर्न आवश्यक छ भन्ने लागेको छ । हालको परिस्थिरलाई हेर्ने हो भने पुँजी बजार बढी नै शहर केन्द्रित छ यसको सीमित एरियालाई बढाएर गाउँघर दूर दराजमा समेत पुर्याउन आवश्यक छ भन्ने मलाई लाग्छ र त्यसको निमित्त समेत अध्यक्षको मानसिकता तयार हुनुपर्छ भन्ने मलाइ लागेको छ ।
त्यस्तै पुँजी बजार सँग सम्बन्धित सम्पूर्ण संघ संस्थाले नयाँ स्टक एक्सचेन्जका लागि एउटै स्वर व्यक्त गरिरहेको समयमा मनोमानीको एकाधिकार तोड्नलाई समेत नयाँ स्टक ल्याउने सन्दर्भमा उहाँको भूमिका रहनुपर्ने र नयाँ स्टक एक्सचेन्जका विषयमा प्रक्रिया अगाडी बढाउँदै गर्दा भइरहेको नेपाल स्टक एक्सचेन्जलाई समेत सुधार गर्नु पर्ने माग हाम्रो निरन्तर रूपमा रहेको छ ।
लामो समयदेखि आइपीओ निष्कासनको काम ठप्प भएको भन्दै त्यसलाई यथाशीघ्र रुपमा अगाडि बढाउनुपर्छ भन्ने लाग्छ । लामो समय पाइप लाइनमा रहेको आइपीओ रोकिएको कारण लगानीकर्ता मर्कामा परेका छन् । त्यसका साथै मुख्यतया नीतिगत सुधारका निमित्त ख्याल गर्नुपर्ने देखिन्छ । यो संगसंँगै विदेशी लगानीकर्तालाई समेत पुँजी बजारमा जोड्न सकिन्छ । आजका दिनसम्ममा समेत विदेशी लगानीकर्तालाई पुँजी बजारमा लगानी गर्न पाउने भन्ने कुरा कुरैमा सीमित छ, त्यसकारण विदेशी लगानीकर्तालाई कन्फिडेन्समा लिएर पुँजी संकलन गर्नतर्फ ध्यान दिनुपर्छ भन्ने मेरो धारणा हो ।
तारा फुलेल
नव नियुक्त अध्यक्ष श्रेष्ठको आगमनले शेयर बजारका लगानीकर्तामा हौसला थपेको छ । लगानीकर्तामा थपिएको हौसलाले पुँजी बजारको क्षेत्रमा राम्रो काम गर्ने अपेक्षा राख्नु स्वाभाविक हो भन्ने मलाइ लाग्छ । नव नियुक्त अध्यक्षले यस भन्दा अगाडीका अध्यक्षको भन्दा फरक ढङ्गबाट काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिसकेका छन् । तसर्थ अस्थिर नीतिका कारण लगानीकर्ताले नोक्सानी बेहोर्नु पर्ने अवस्थाहरू आइरहेकाले अध्यक्षले स्थायी नीतिगत व्यवस्थाको पहल गर्नु पर्ने मेरो धारणा छ ।
हाल भइरहेको स्टक एक्सचेन्जबाट जे जति काम हुनु पर्थ्यो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन । यो अवस्थालाई चिर्नका लागि अध्यक्षले यस विषयमा नयाँ स्टक एक्सचेन्जको प्रक्रिया समेत अगाडी बढाउनु पर्ने म लगायत आम लगानीकर्ताको पहिलेदेखि कै मागको रूपमा छ यसलाई अध्यक्षले चासोको रूपमा हेर्नुपर्छ भन्ने लाग्छ । नेपालमा कारोबार गर्ने लगानीकर्ताहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा रहेका एक्सचेन्ज तथा बजारलाई देखिरहेको हुँदा उनीहरूको अपेक्षा अनुसारको बजार विकास र विस्तार गर्नु पर्ने मेरो सुझाव रहन्छ ।
अध्यक्षबाट पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने, बजारको दायरा फराकिलो बनाउने, वित्तीय सुशासन कायम गर्ने, बजारमा देखिएका विकृतिहरू अन्त्य गर्ने जस्ता कामहरूको अपेक्षा गर्नुको साथै बोर्डको अध्यक्षले अभिभावकको रूपमा काम गर्नु पर्ने मेरो जोड छ त्यसका निमित्त उहाँले हाम्रो समेत सहयोगको अपेक्षा राखेको खण्डमा हामी तयार नै रहेको विषय प्रस्ट छ ।