काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा तारबारको प्रक्रिया सुरू गरेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार महानगर प्रहरीको टोली बालुवाटार पुगेको छ ।
अहिले ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबार गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेकाे हाे । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताए । ललिता निवास पुगेको प्रहरी टोलीले त्यहाँभित्र रहेको अस्थायी संरचना तत्काल हटाउन अल्टिमेटम दिएको छ ।
त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।