काठमाडौँ। साताको अन्तिम कारोबारका दिन शेयर बजारमा करेक्सन आएको छ । लगातार तीन दिन उकालो लागेको शेयर बजारमा आज सामान्य करेक्सन आएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिपछि बजारमा आएको सकारात्मक वातावरणले लगानीकर्तामा विश्वास बढाएको छ। साताको अन्तिम कारोबारका दिन बजार घट्नुलाई करेक्सनकै एक चरण भएको जानकारहरूको भनाई छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले घटेर २७४८.०५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ ।
३ वटा समूहका सूचक सकारात्मक रहेका छन् । यस्तै, ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । भने आज १० उपसूचक राताम्य भएका छन्। आज विकास बैंक समूहको १.०५ प्रतिशत, जीवन बीमा समूहको ०.४७ प्रतिशत र व्यापार समूहको ९.२५ प्रतिशतले बढेको छ ।
समग्रमा भने बजारको गति सकारात्मक मानिएको छ । पछिल्ला दिनहरूमा सेयर बजारका लागि सकारात्मक खबरहरू बनिरहेको छ। धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको खबर चिसो बन्न नपाउँदै मौद्रिक नीतिको समीक्षा मुखैमा आएको छ । भने यसअघि कसिएका नीतिहरू पनि बिस्तारै खुकुलो हुँदै गएका छन् ।
केन्द्रीय बैंकले पनि पुँजी बजारलाई सहयोग नै पुग्ने गरी नीतिगत परिमार्जन गर्दै गएको छ । आगामी दिन नीतिहरू थप लचिलो हुँदै जाने संकेतहरु देखिएका छन् ।