काठमाडौँ। एनसेल फाउण्डेशनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउण्डेसशले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको हो ।
यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउनेछ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।
‘क्रिकेट एक यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन र सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।
एनपीएल नेपालको एक प्रमुख क्रिकेट प्रतियोगिता हो र शिक्षाको महत्त्व दर्शाउँदै यो सत्कार्यलाई प्रवर्द्धन गर्ने उपयुक्त प्लाटफर्म हो । क्रिकेट नेपालका समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल भएकाले यो पहलले खेलमा रोमाञ्चकता थप्नुका साथै सहयोग र स्रोत बढी आवश्यकता भएकाहरूसम्म आवश्यक सहयोग पुर्याउँछ ।
यी शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एसोसिएशन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ, जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामग्रीहरू पुग्ने सुनिश्चितता गर्नेछ । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरूको निर्माणमा गर्न सहयोग पुर्याउनेछ ।
यो साझेदारी एनसेलको ‘हामी तपाईँकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरूप रहेको छ । क्रिकेट दक्षिण एसियाली उपमहाद्वीपका सबैभन्दा लोकप्रिय खेलकुदहरूमध्ये एक हो । एनसेल फाउण्डेशन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धतामा दृढ छ ।