काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहास लगभग एक सय वर्ष पुरानो छ । नेपालमा जीवन बीमाको प्रारम्भिक व्यवसाय सुरुवात भारतीय जीवन बिमा कम्पनीहरूले गरेका थिए सन् १९४७ तिर नेपालमा पहिलो पटक भारतीय जीवन बीमा निगम (Life Insurance Corporation of India LIC) ले आफ्नो सेवा बिस्तार गरेको थियो ।
त्यति बेला नेपाल भने बीमा सुरुवातीको चरणमा नै थियो । त्यस पछि नेपालमा नेपाली बीमा कम्पनीको आवश्यकता महसुस पछि राष्ट्रिय बीमा कम्पनीबाट बीमा सम्बन्धी कार्यहरू थालनी गरिएको हो उक्त संस्था नेपालको पहिलो स्वदेशी बीमा कम्पनीको रूपमा स्थापित भयो । नेपालमा राजनीतिक र सामाजिक उद्देश्य परिवर्तन पछि निजी क्षेत्रका बीमा कम्पनीको आगमन संगसगै नेपालमा जीवन बीमा व्यवसाय फस्टाउँदै गएको प्रारम्भिक इतिहास रहेता पनि पछिल्लो समयमा बीमा व्यवसायले धेरै प्रकारको नीतिगत समस्या भोग्दै आएको छ ।
अस्वस्थ प्रतिस्पर्धा तथा झन्झटिलो बीमा दाबी प्रक्रियाको जालोमा जेलिने र रकम पनि फिर्ता नपाइने मनोविज्ञानले बीमा व्यवसायको दायरा फराकिलो हुन नसक्नु बीमा कम्पनीका आन्तरिक कारणहरू हुन । पछिल्लो समय नियमक निकाय नेपाल बिमा प्राधिकरणको कसिलो र प्रभावकारी नियमका कारण बीमा व्यवसायमा आन्तरिक सुशासनको प्रत्याभूति महसुस विभिन्न क्षेत्रबाट गर्न सकिन्छ बीमा कम्पनीका अनैतिक व्यावसायिक क्रियाकलापमा निरन्तर सुधारोन्मुख छ । अझै पनि नेपालमा नेपाली माटो सुहाउँदो जीवन बीमा योजनाहरू आएका छैनन ।
अन्य देशको तुलनामा नेपालको मुनाफामा सरिक हुने जीवन बीमा योजनाका बीमा शुल्क महँगो समेत रहेको छ । छिमेकी देश भारतको जीवन बिमा पोलेसिलाई तुलना गरेर हेर्दा नेपालमा आर्थिक रूपमा विपन्न तथा जनतामैत्री जीवन बीमा योजनाहरू छैन । केहि वर्ष अघि नेपाल बीमा प्राधिकरणले बिपन्नमैत्री जीवन बिमा योजनाका लागि लघु जीवन बीमाको अवधारण ल्याएका थियो । सो बमोजिम बीमा कम्पनी समेत आए तर उनिहरुको बीमा योजना समेत परम्परागत रूपमै आएका छन्। जसले सोचे अनुसारको प्रतिफल दिन भने सकेको छैन ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा महत्त्वपूर्ण योगदान रहेको छ । सन् २०२२ /२३ को तथ्थांक अनुसार नेपालको बीमा क्षेत्रले GDP मा करिब ३.७ प्रतिसतको योगदान रहेको देखिन्छ । जीवन बीमाको योगदान भने २ प्रतिसतको हाराहारीमा रहेको तथ्यांकको आधारमा अनुमान गर्न सकिन्छ । GDP का आधारमा निजी क्षेत्रले बीमा बिस्तार क्रमशः वृद्धि हुँदै गएको देखाएता पनि यथार्थमा भने त्यस्तो पाइँदैन । अझै पनि बीमा सम्बन्धी जनचेतनाको कमी नै छ । पढेलेखेका मानिसबाट नै बिमा क्षेत्रको नकारात्मक प्रचार भएको एक अनुसन्धानले देखाएको थियो । नेपालमा जीवन बीमाको पहुँच नबढ्नुका केही प्रमुख कारणहरू रहेका छन् । जसले गर्दा मानिसले जीवन बीमालाई कम महत्त्व दिएको पाइन्छ ।
१ अज्ञानता र वित्तीय साक्षरताको अभाव: अधिकांश नेपालीले जीवन बीमाबारे जानकारीमूलक शिक्षा र स्पष्ट नबुझेको कारण बीमा प्रति खासै चासो देखाएको पाइँदैन । दुर्गम ग्रामीण क्षेत्रमा त अझ जीवन बीमा सम्बन्धी ज्ञान नभएका कारणले गर्दा बीमाको पहुँच सीमित हुँदै गएको छ । अझ जीवन बीमा सम्बन्धी ज्ञान नभएका कारणले गर्दा बीमाको पहुँच सिमित हुँदै गएको छ ।
२ अविश्वास र गलत धारणहरू : बीमा कम्पनीहरूले पहिलो चोटि बीमा गराउँदा बीमा जारी प्रक्रिया सहज र सरल हुने पछि बीमा दाबी लगायतका प्रक्रियामा जटिलता सृजना गर्ने ढिलासुस्ती, र पारदर्शिता अभावका कारण धेरै मानिसले बीमा कम्पनी प्रतिहुने विश्वास कमजोर हुँदै गएका छन् ।
३ वित्तीय अवस्था र खर्चको प्राथमिकतामा वर्गीकरण : नेपालमा अधिकांश मानिसहरूको वित्तीय अवस्था कमजोर भएका कारण जीवन बीमालाई आफ्नो आधारभूत आवश्यकता नभई विलासिताको बस्तुमा वर्गीकरण गर्नाले जीवन बीमाको पहुँच बिस्तार हुन सकेको छैन । अधिकांशको प्राथमिकता भौतिक सम्पत्ति जस्तै : घर, जग्गा, सुन तथा सेयर कारोबारमा आकर्षित हुने हुनाले जीवन बीमा जस्तो अदृश्य बचतमा लगानी गर्न हिचकिचाउने गर्दछन् ।
४ बीमा सम्बन्धी जानकारीको अभाव: जनस्तरमा जीवन बीमाको फाइदा र यसको आवश्यकता र महत्वको बारेमा राम्रोसँग जानकारी छैन जसका कारण जीवन बीमा भविष्यको लागि एक महत्त्वपूर्ण आर्थिक सुरक्षा उपकरण हो भन्ने कुरा बुझेका हुँदैनन्
५ कम नाफाको अपेक्षा : मानिस जीवन बीमा दीर्घकालीन बचत योजना हो भन्ने कुरामा विश्वास गर्दैनन् किनकि जीवन बीमाले तत्कालीन रूपमा रूपमा फाइदा दिँदैन भन्ने मान्यता मानिसले पालिरहेका छन् ।
६ ब्याज दरमा लोभ: बीमा बचत भन्दा बैक,फाइनान्स,सहकारी संस्थामा लगानी गर्दा आकर्षक ब्याजदर पाइने र मुनाफा तत्काल प्रयोग गर्न पाइने मनोविज्ञानले प्रभाव पारेका कारणले जीवन बीमा आवश्यकताको केन्द्रमा पदैन् ।
यी लगायतका धेरै कारणले जीवन बिमाको दायरा बढ्न सकेको छैन त्यसका लागि निजी क्षेत्र तथा सरकारी तवरबाट जानकारी मूलक कार्यक्रम चलाएर जीवन बीमाको महत्वको बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक छ । विशेष हाल सञ्चालनमा रहेका बीमा कम्पनीलाई भूगोल र जनसङ्ख्याको आधारमा समायोजन गर्ने र स्कुल स्तरबाट पाठ्यक्रमका माध्यम बाट बीमाको महत्त्व र आवश्यकता सम्बन्धी जागरण फैलाएमा दीर्घकालीन रूपमा बीमा व्यवसाय बिस्तार हुनेमा दुई मत छैन ।
लेखक सुरेश भट्टराई ,प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिराटनगर शाखा प्रमुखमा कार्यरत हुनुहुन्छ।








