काठमाडौं । सरकारी निकायको कुरा गर्ने हो भने ६० वर्ष भन्दा बढी उमेर पुग्यो भने सेवाबाट अनिवार्य अवकाश लिनुपर्ने प्रावधान छ । तर मोरङको पानीपोखरी गाउँपालिका वार्ड नं.३ जयनेपालचोकका जयराम झा भने आफ्नो उमेरको ६ दशक पार भइसक्दा पनि आफ्नो व्यावसायिक काममा तन्नेरी जस्तै सक्रिय छन् ।
गाउँकै वाल माध्यमिक विद्यालयको प्रधानाध्यापक र प्रभु महालक्ष्मी इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका झा ले जीवनका ६४ वसन्त पार गरिसक्दा प्रधानाध्यापकको जागिरबाट अनिवार्य अवकाश पाए पनि अभिकर्ता पेसामा भने सक्रिय रहेका छन् ।
मोरङको तराई क्षेत्रमा बस्ने झा एकाबिहानै उठेर आफ्नो नित्य कर्म सकेर खाजा नास्ता खाएर आफ्नो एक मात्र सारथि मोटरसाइकल डोर्याउदै नजिक टाढाका आफन्त र साथीभाइहरूलाई भेटेर बीमासम्वन्धीका अनुभवहरू साटासाट गर्ने गर्छन्। उनको सक्रियतालाई अझै पनि उमेरले रोकेको छैन। बीमा अभिकर्ताकै रूपमा लाइफ इन्स्योरेन्स नेपालबाट अभिकर्ताको काम सुरु गरेका उनले रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हुँदै हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आबद्ध रहेका छन् । उनलाई कम्पनीहरूले सम्मान स्वरूप क्षेत्रीय तथा राष्ट्रिय स्तरमा विभिन्न ठाउँहरूको भ्रमण समेत गराएको छ ।
उनी भन्छन्, बीमा अभिकर्ता स्वतन्त्र र सम्मानित पेसा हो । यसको मर्यादालाई जोगाउन भने आवश्यक छ । बीमा कम्पनीहरूले एसएलसी पास गरेका सबैलाई बीमा अभिकर्ता बनाउने गरेकोमा भने उनको असन्तुष्टि रहेको छ । आर्थिक भ्वाइससँग कुराकानी गर्दै उनी भन्छन्, ‘अव त बीमा अभिकर्ता बनेर काम गर्न नि गाह्रो लाग्छ । किनभने आजभोलि एसएलसी पास गरेका सबै व्यक्तिलाई बीमा कम्पनीहरूले बीमा अभिकर्ता बनाउने गरेका छन् । उनीहरूले आफ्नो आमाबुबा, छोराछोरीजस्तै २–४ जनाको मात्रै बीमा गराउँछन् जसले गर्दा व्यावसायिक अभिकर्ताहरूलाई गाह्रो हुने गर्दछ ।’
साथै, यस क्षेत्रमा सक्षम अभिकर्ताहरूको कमी रहेको उनको अनुभूति छ । जसको लागि बीमा प्राधिकरणले उचित कदम चाल्नुपर्ने उनको भनाई छ । सन् १९९० देखी लाइफ इन्स्योरेन्स कम्पनी मा अभिकर्ता बनेर काम गरेका उनले सन २००३ पछि भने एलआइसी नेपालमा काम सुरु गरेका थिए । एलाआइसीमा काम गर्दै गर्दा राति अबेर सम्म काम गर्नुपरेको तथा भोक भोकै हान्नुपरेको अनुभव पनि उनीसँग रहेको छ । मोरङतिर बिमाको बारेमा कसैलाई थाहा नै नभएको अवस्थामा आफूले अभिकर्ता बनेर काम गर्दा गाह्रो भएको उनको भनाई छ।
आफूमाथि विश्वास भएका कारणले अभिकर्ता पेसामा आफू सफल भएको उनको भनाई छ । उनले काम गर्दै जाँदा बीमा प्राधिकरणबाट ४ दिने तालिम लिएका थिए । एलआइसीका विराटनगर शाखा प्रबन्धक पवन नेपालसँग राम्रो सम्बन्ध भएको र उनले आफूलाई यो क्षेत्रमा स्थापित गराउन सहयोग गरेको उनको भनाई छ । त्यसपछि उनले एलआइसी छाडेर रिलायवलमा गएर काम गरेको उनी सुनाउँछन् । रिलायवलमा लगभग २ बर्षजति काम गरेपछि उनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आबद्ध भएका थिए । २०४१ देखी गाउँकै एक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको पद सम्हालिरहेका उनले प्रभु महालक्ष्मीमा काम गर्दै गर्दा अनिवार्य अवकाश समेत पाइसकेका छन् भने अहिले अभिकर्ता पेसालाई मात्र निरन्तरता दिइरहेका छन् ।
उनी अहिले प्रभु महालक्ष्मी इन्स्योरेन्सको इटहरी ब्रान्चमा वरिष्ठ एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेका छन् । उमेरले ६४ वर्ष कटाइसकेका उनले आजसम्म विभिन्न कम्पनीमा गरेर करिब १२ सय भन्दा बढी मानिसहरूको बीमा गरिसकेका छन् । बीमा अभिकर्ताबाट भएको कमाइले नै २ छोरी र १ छोरालाई राम्रो शिक्षा दिन सकेको उनी बताउँछन् । बीमा अभिकर्ता भएर काम गर्दै गरेपछि प्राप्त गरेको सफलताले आफूमा थप आत्मबल बढ्ने गरेको उनको भनाई छ । आफू पूर्ण रूपमा स्वस्थ नभए पनि बीमा अभिकर्ताबाट पाएको सफलता र सम्मानका कारणले औषधी खानुपरे पनि जिन्दगीमा पछाडि फर्केर हेर्नुपर्ने अवस्था भने नरहेको उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाए ।
रोगी र अशक्त जस्तै भएर काम गर्न गयो भने आफूहरूलाई अरूले पत्याउन नि गाह्रो हुने उनी बताउँछन् । उनी भन्छन् ,‘ मैले पाएको सफलता नै मेरो आत्मबल हो । मैले पछाडि फर्केर हेर्नु पनि परेको छैन । ओषधीहरू त म खान्छु, तर पनि निरोगी जस्तै भएर हिँड्छु र काम गर्छु ।’ अभिकर्ता बन्नको लागि धैर्यता सँगै आँट, साहस र आफूमाथि नै विश्वास पनि हुनुपर्ने उनको भनाइ छ । बीमा अभिकर्तामा इमानदारिता भने सयमा एक सय एक प्रतिशत हुनुपर्ने मान्यता उनी राख्छन् । बीमा कम्पनीहरूले पनि अभिकर्ताको छनोट गर्दा राम्रो, लगनशील र मिहेनती मानिसको छनोट गर्नुपर्ने उनी बताउँछन् ।
यस्तै आफ्ना कर्मचारीहरूलाई थप सक्षम बनाउनको लागि समय समयमा तालिम तथा प्रशिक्षणजस्ता कार्यक्रमहरू राख्न सके अभिकर्ताहरूले पनि राम्रोसँग काम गर्न सक्ने उनको धारणा छ । उनी भन्छन्, मानव जीवनमा अकस्मात् आइपर्ने भवितव्यको जोखिम कम गर्ने महत्त्वपूर्ण औजार नै बीमा हो । उनको भनाई लाई सापटी लिएर भन्ने हो भने, बीमा बचत र लगानी दुवै हो ।
‘यदि बीमा गर्ने कुनै पनि व्यक्ति कुनै घटनामा परे वा कुनै क्षति भयो भने बीमा कम्पनीले त्यस्तो क्षतिपूर्ति बहन गर्छ । तर सम्झौता अनुसार तोकेको समय अवधिसम्म कुनै घटना भएन भने पनि बीमा कम्पनीहरूले प्रतिफलसहित सो रकम बीमितलाई फिर्ता गर्दछन् । यो नै बीमाको सुन्दर पक्ष हो ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने । यसका साथै बीमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षासँगै बीमितको जीवनमा अकस्मात् आइपर्ने विभिन्न खालका जोखिमहरू समेत वहन गर्ने उनको भनाई छ ।








