बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो ।

बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् ।

असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो ।

सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिका बयानका आधारमा बालाजी र लक्ष्मीपति सुनचाँदी पसल दुवै पसलमा सिल गरी थप अनुुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताए ।

सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ ।