बुटवल । बुटवलमा झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीता कशौधन रहेका छन् ।
उनीहरुले अर्कैका दुई जना छोराछोरीलाई आफ्नै एक छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले बताए ।
नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।