काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएकाे छ । लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँड सम्पन्न भएको हाे ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाडाैं ठमेलस्थित कार्यालयमा आईपीओ आज बिहान बाँडफाँड गरिएको हो ।

कम्पनीले गत असार ५ गतेदेखि असार ८ गतेदखि कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

आईपीओमा कुल १० लाख २४ हजार ४६ आवेदकबाट कुल १ करोड ९ लाख ७९ हजार ७६० कित्ता माग भएको थियो। जसमा १० लाख २१ हजार १९८ आवेदकबाट परेको १ करोड ९ लाख ४४ हजार ५६० कित्ता सेयर सदर भएको छ भने २ हजार ८४८ आवेदकबाट परेको ३५ हजार २०० कित्ता बदर भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै २ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।