काठमाडौँ। सेयर बजारमा निरन्तर रूपमा गिरावट आउँदा आम लगानीकर्तामा निराशा चुलिएका छ । बजार निरन्तर रूपमा ओरालो लागेपछि पुँजी बजारबाट ठूला लगानीकर्ता समेत बाहिर थालेका छन् । बजार लगातार जसो घट्न थालेपछि लगानीकर्ताहरू आत्तिएर सेयर बिक्री  गर्न थालेका छन् ।

शेयर बजारका लागि आवश्यक सबै आधार र सूचकहरू समेत सकारात्मक हुँदा हुँदै बजारले किन गति लिन सकेको छैन । बजारको गिरावट कहिलेसम्म कायम रहन्छ भनेर आर्थिक भ्वाइसले शेयर विश्लेषक तथा लगानीकर्ता राजन लम्साललाई सोधेका छौ प्रस्तुत छ लम्सालको धारणा………

यहाँले भनेजस्तै यो समय पुँजी बजारका लागि संकटको समय हो भन्ने लाग्छ । बजार निरन्तर ओरालो लाग्दा आम लगानीकर्ताको मनोबल कमजोर बन्नु त स्वाभाविक नै भयो नै तर बजार किन घटिरहेको छ भन्ने मुख्य प्रश्नमा बजार घट्नुको मूख्य कारण राजनीतिक परिवर्तनको हल्ला नै हो भन्ने मेरो बुझाई छ ।

अर्को भनेको क्वाटर इन्डमा बजार स्वतः घट्न जान्छ । बजार घट्ला र किनौला भनेर तयार भएर बसेको अवस्थामा सेलरहरुलाई भने बेच्न परेको छ यस्तो अवस्थामा बजारले गति लिन सक्दैन । बजार बढ्नलाई सबै आधार वा सूचक महत्त्वपूर्ण हो हाल त्यस्तो हुनु सकेको अवस्था देखिदैन् ।

त्यसमा वर्तमान समयमा जोडिएर आउने एउटा सहायक कारण अस्थि। राजनीति र बजारमा सरकार परिवर्तनको हल्ला पनि हो । सरकार परिवर्तनको कुराले लगानीकर्तालाई समेत अन्योल सृजना गर्छ, नयाँ बन्ने सरकारमा पुँजी बजारका लागि आवश्यक नेतृत्व आउँछ आउँदैन हाम्रो लगानी नै धरापमा पर्ने पो होकि भन्ने जस्तो शंकाहरु पैदा गर्छ जसको कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थाको बढी केन्द्रित हुन्छन् यसले समेत बजारलाई प्रभावित गर्ने गर्दछ।

त्योसंगै जोडिएर आउने तत्कालीन एउटा कारण यसबीचमा कर्नरिङ गरेर थोरै पुँजी भएका नन्–फन्डामेन्टल कम्पनीहरूको भाउ एकाएक बढाउने काम भयो । यस्ता कम्पनीमा छिटै कमाइने प्रलोभनमा परेर कतिपय नयाँ र सिकारु लगानीकर्ताले माथिल्लो विन्दुमा सेयर खरिद गरेको देखिन्छ। तर छोटो अवधिमै उनीहरूलाई ठुलो नोक्सान पनि भएको छ । यसबाट कतिपय नयाँ, साना र सिकारु लगानीकर्ता प्यानिक भएको देखिन्छ । तसर्थ बजारमा पर्याप्त वा आवश्यक ज्ञान भएको लगानीकर्ताको आगमन नहुनुले समेत बजारले लय समाउन सकिरहेको छैन। यसकारण आम लगानीकर्तामा समेत बजारको बारेमा पर्याप्त ज्ञान हुनु आवश्यक छ भन्ने मेरो धारणा हो ।

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै लगानीकर्तामा निराशा चुलिएको छ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा सर्वसाधारणको अर्बौँ रुपैयाँ बराबरको शेयर बन्धक भएको छ । यस बैंकको पब्लिक शेयर लगानीकर्ताको करिब दुई अर्ब रुपैयाँ बराबरको शेयर बन्धक भएको देखिन्छ । कर्णाली डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ३ सय कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमा २५ लाख ६४ हजार ४३३ कित्ता संस्थापक शेयर हो भने बाँकी २४ लाख ६३ हजार ८६७ कित्ता सर्वसाधारणको हो। यी कारोबार ठप्प हुनुले समेत लगानीकर्तामा थप त्रास सृजना गरेको छ ।

हालको समयमा लगानीकर्ताहरू बिस्तारै सबल वित्तीय सूचक भएका अर्थात् फन्डामेन्टल कम्पनीतिर सिफ्ट हुन खोज्दै गरेको देखिएको छ। यसकारण पनि उनीहरूलाई कमजोर कम्पनी बिक्री गरेर तुलनात्मकरुपमा सबल कम्पनीहरू किन्नुपर्ने हुन्छ। तर घट्दो क्रमको असर भने समग्र बजार र सूचकमा परिरहेको देखिन्छ ।

बजार घट्न थालेपछि लगानीकर्ता थप त्रसित हुने कुरा त छदैछ। त्यसबाहेक उनीहरू आत्तिएर बिक्री गर्ने प्रवृत्ति पनि थप बढ्न जान्छ । यस्तो बेला धेरैजसो लगानीकर्ताको मनोबल कमजोर बन्छ, जसले गर्दा बजारमा थप प्यानिक सेल आउँछ । अहिले बजार फराकिलो अंकले घट्नुमा यो एउटा कारण हो भन्ने मेरो बुझाई हो । हाम्रो सेयर बजार समाचार, हल्ला र अफवाह, अनुमान हरुबाट अत्यधिक प्रभावित रहेको छ। बजारमा चल्ने अफवाहहरू र मिडियामा आउने अनेकौ शिर्षको समाचारले शेयर बजारलाई प्रभाव पार्न ठूलो भूमिका खेल्छन् ।

अफवाह, अनुमान तथा अड्कलबाजी लाई कम गर्न, यस बजारमा पारदर्शिता बढाउनु पर्ने देखिन्छ । बजारमा गफ र अफवाहहरु ध्वस्त पार्न सूचीकृत कम्पनीहरु सम्बन्धी जानकारी राख्न जरुरी छ ।

यसैगरी, नेप्से लामो समयदेखि २७८० भन्दा माथि जान सकेको छैन । यो रेखालाई पार गर्न नसकेपछि बजार पटक पटक तलतिरै झरिरहेको छ । माथि जान नसकेपछि  घट्ने आँकलन गर्दै ट्रेडरहरुले थप सेलिङ प्रेसर बढाइदिन्छन् यसले समग्र बजारमा थप दबाब पर्न जान्छ । अहिले नेप्से सूचकमा ठुलो अंकको गिरावट आउनुमा यो पनि अर्को एउटा प्रमुख कारण मानिएको छ ।