काठमाडौँ। आज माघे संक्रान्ति, मकर सङ्क्रान्ति वा माघी पर्वको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई देशभर आ-आफ्नो संस्कार र संस्कृति अनुसार मनाउन लागिएको छ ।

माघे संक्रान्ति पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ। माघे-मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्ड र तरुल खाई मनाइने प्रचलन छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो। आजदेखि तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व भएको मानिन्छ ।

ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी पनि होइने उल्लेख छ। माघे सङ्क्रान्तिका दिन विशेष गरी वन तरुल, सखर खन्न९सुठुनी०, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।

यो पर्वलाई माघ्यासेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई ,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

आज माघे सङ्क्रान्ति पर्वमा अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसर्थ आज विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् ।