काठमाडौँ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ।
काठमाडौँ जिल्ला अदालतमा अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन्। रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु भएको हो ।
जाहेरवाका तर्फबाट बहस गरेका सरकारी वकिलहरूको जवाफी बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले थुनछेकको आदेश गर्नेछन् । रविको विषयमा आम जनताको चासोको विषय बनेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौँमा पनि बयान लिइरहेको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछाने सहितमाथि लागेको छ । जवाफी बहस सकिएसँगै आजै थुनछेक आउने सम्भावना चुलिएको हो ।