काठमाडौं । ऊर्जा व्यवसायीहरूको संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको अनुमतिपत्रमा भएको ३५ वर्षे बन्देज हटाउन सरकारसँग माग गरेको छ ।
काठमाण्डौमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले ३५ वर्षे बन्देज हटाएर प्रसारण लाइन र ग्रिड कनेक्शन सम्झौताहरूमा भएका असमानता र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न सरकारसँग माग गरेको हो । ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालका संयोजक सूर्यप्रसाद अधिकारीले निजी क्षेत्रबाट निर्माण भई सञ्चलानमा रहेका ५१० मेगावाट क्षमता बराबरका ११० वटा जलविद्युत् आयोजनामध्ये धेरैजसो आयोजनाहरू घाटामा चलिरहेको बताए ।
इनर्जी अन्टरप्रेनर्सले विद्युत् खरिदरबिक्री सम्झौता (पीपीए) मा भएका असमानता हटाउन र विद्युत् खरिददर वृद्धि गर्न, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, पूर्ववतरूपमा जलविद्युत् आयोजनाहरूका लागि विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पाट्र्स र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागू गर्न तथा वैकल्पिक व्यवस्थामार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउनुपर्नेसहित ६ बुँदे माग राखेको छ ।