काठमाडौं । घोराही सिमेन्टलाई आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले पुन अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो।
बोर्डको छानविनका क्रममा यस्तो आवेदनकर्ता सँग कम्पनीको कुनै पनि संलग्नता नरहेको पाइएको छ । बोर्डले छानविनका क्रममा संलग्नता नभएको पाइएको भन्दै कम्पनीलाई सफाइ दिएको हो । बोर्डले आवेदन खुला गर्नुका साथै सिआस्वा प्रणालीबाट आवेदन दिने आवेदकलाई पुन लगानी थप घट गर्ने सुविधा दिने भएको छ । यसका लागि लगानीकर्ताले तीन दिनको समय पाउने छन् ।
यदि कम्पनीले आह्वान गरेको शेयरका लागि पर्याप्त आवेदन नपरेमा १५ दिन समय थप गर्न पाउने कानुनी व्यवस्था रहेको छ । कम्पनीले जेठ ३२ गतेदेखि असार ४ गतेसम्म ५ दिन बिक्री खुला गरिसकेको र लगानीकर्तालाई लगानी थप घट गर्न तीन दिनको समय दिने भएकाले अव कम्पनीले बढिमा ७ दिन मात्रै खुला गर्न पाउने छ । लगानीकर्ताले अवको तीन दिनसम्म बिक्री खुला गर्दा माग भन्दा बढि आवेदन पर्यो भने बिक्री बन्द गर्न सक्नेछ ।
बोर्डले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटललाई पनि खातामा पर्याप्त पैसा नभइ कसरी आवेदन स्वीकृत भयो भन्दै सेयरमा परेको फर्जी आवेदनको अनुसन्धानका लागि प्रहरीमा पठाउने भएको छ ।