काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।

यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्ग अनुसार १५३ रुपैयाँ पर्ने डिजेल र मट्टीतेलको मूल्य १५६ रुपैयाँ पर्ने छ ।