काठमाडौं । अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि विभिन्न किसिमका चुनौतीहरू विद्यमान छन् । बीमा क्षेत्रमा वित्तीय साक्षरताको कमी तथा बीमा पोलिसि सरेण्डर, दाबी भुक्तानी लगायतका धेरै समस्याहरू नेपालको बीमा क्षेत्रमा रहेका छन् ।
यी यस्ता समस्याहरूको उपयुक्त समाधान खोज्नको लागि बीमा क्षेत्रमा नै फरक तरिकाले आफूलाई स्थापित गर्न खोजिरहेको स्टार्टअप कम्पनी हो, बीमा दोकान । संस्थागत अभिकर्ताका रूपमा काम गरिरहेको बीमा दोकानले, बीमाको बारेमा ग्राहकहरूलाई सहज र सरल ढङ्गले जानकारी दिने उद्देश्य राखेको छ ।
यसका साथै थोरै मात्र आम्दानी भएका व्यक्तिहरूलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउन र बीमा सरेन्डरको अनुपातलाई पनि कम गर्दै अगाडी बढ्ने उद्देश्य पनि बीमा दोकानले लिएको छ । ग्राहकहरूमाझ सरल र सहज ढङ्गबाट बीमा पोलिसीहरु र्पुयाउनको लागि उत्कृष्ट सेवाका साथ बीमा दोकानले काम गरिरहेको छ ।
एग्रिगेटरको कन्सेप्टमा स्थापित नेपालकै पहिलो कम्पनी
बीमा दोकानका प्रमुख कार्यकारी अधिकृत ईश्वर श्रेष्ठका अनुसार यो कम्पनी बीमा एग्रिगेटरको अवधारणामा स्थापित भएको कम्पनी हो । भारत लगायतका अन्य मुलुकमा एग्रिगेटरको नियम भए पनि नेपालमा यसको व्यवस्था अझै भई नसकेको उनको भनाई छ ।
श्रेष्ठले हामीसँग कुराकानी गर्दै भने, ‘भारतमा सञ्चालित कम्पनी ‘पोलिसि बजार डटकम’ ले बीमा एग्रिगेटरको काम गरिरहेको छ । नेपालमा एग्रिगेटरलाई लाइसेन्स दिने व्यवस्था छैन । तर हाम्रो पनि खास कन्सेप्ट त्यही नै हो । हामीले ग्राहकहरूलाई यो वा त्यो कम्पनीको नभनी स्वतन्त्र रूपमा ग्राहकहरूको आवश्यकता र क्षमतालाई बुझेर सबै बीमा कम्पनीहरूको पोलिसि छनोट गरेर खरिद गराउँछौ । यस्तै विभिन्न क्याम्पेनिङहरु सञ्चालन गरी बीमा कम्पनीहरूले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्कको विश्लेषण गरी बीमाभित्र पर्ने जीवन तथा निर्जीवन बीमाका सम्पुर्ण पोलिसीहरु ग्राहकलाई किन्नका लागि सुझाव समेत दिने गर्छौ ।’
बीमामा समेत ईएमआई सेवा
बीमा दोकानले बीमालाई दैनिक ईएमआई मार्फत समेत गर्दै आइरहेको छ । जसले गर्दा बीमा बजारमा बीमाबाट वञ्चित रहेका व्यक्तिहरूलाई पनि बीमाको दायरामा ल्याउन मद्दत पुगेको विश्वास कम्पनीले लिएको छ ।
बीमाको पहुँचमा नभएका व्यक्ति, परिवार र समुदायलाई बीमासँग जोड्नका लागि गत असार १ गतेबाट यो कम्पनीले ईएमआई मार्फत पनि बीमा गर्न सकिने सुविधा ल्याएको हो । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सेवा प्रदान गर्ने कम्पनीले ईएमआई सुविधा दिन सुरु गरेको कम्पनीका अधिकृत श्रेष्ठले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा सुनाए ।
‘हामीले भर्खरै मात्र बीमा क्षेत्रमै पहिलो पटक इएमआई मार्फत पनि बीमा गर्न सकिने सुविधा ल्याएका छौँ । प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुरका कम आय भएका र पिछडिएका समुदायका लागि हामीले यस्तो व्यवस्था गरेका हौँ ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भने ।
बीमालाई गाँस, बास र कपास पछिको आवश्यकताका रूपमा विकास गराउँदै यसबाट वञ्चित रहेका वर्गलाई बीमाको दायरामा ल्याउनका लागि काम गरिरहेको बीमा दोकानले बीमा जबरजस्ती नभई मानिसको आवश्यकता र आम्दानी अनुरूप विकास गर्न खोजिरहेको उनको भनाई छ ।
त्यस्तै, स–सानो आम्दानी भएका व्यक्तिलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुका साथै बीमा सरेन्डर रेसियोलाई पनि न्यूनीकरण गराउने लक्ष्य समेत दोकानले लिएको छ ।
बीमा दोकान र अन्य अभिकर्ताहरूमा फरक
बीमा दोकानका प्रमुख कार्यकारी अधिकृतका अनुसार बीमा दोकान र अभिकर्ताहरूले गर्ने काममा खासै केही फरक छैन् । नेपालका बीमा कम्पनीहरूलाई बीमा अभिकर्ताहरूले धेरै योगदान पुराएको बताउँदै बीमा क्षेत्रलाई आजको दिनसम्म पुराउनमा अभिकर्ताहरूकै भूमिका विशेष रहेको उनले बताए ।
‘नेपालको बीमा क्षेत्रमा अभिकर्ताहरूको योगदान अमूल्य छ । तर पनि अधिकांश अभिकर्ताहरूले बेच्ने पोलिसीहरु भनेको रिलेसनको कारणले बेच्ने गरेको र बीमा पोलिसि रिलेसनको कारणले मात्र नभई बुझेर गर्नुपर्ने भएकोले हामी रिलेसनहरूभन्दा थोरै माथि उठेर ग्राहकहरूलाई उनीहरूको आवश्यकता र आम्दानी अनुसारका बीमा पोलिसीहरु प्रदान गराउँछौ । जसको कारण पोलिसि सरेण्डरको अनुपात घटाउन सहयोग र्पुयाउने विश्वास लिएका छौ ।’ उनले अगाडी थपे,‘हामीले कभरेजलाई बढी महत्त्व दिने गर्छौ रिटर्नलाई होइन । ग्राहकलाई चाहिने खालको कभरेज हामीले उहाँहरूलाई प्रदान गछौं ।’
यसका साथै बीमा दोकानले बीमा क्षेत्रमा रहेका पोलिसि सरेण्डर लगायतका समस्याका विषयमा पनि विगत लामो समय देखि अध्ययन गर्दै आएको छ । सन २०१९ जनवरी २ देखि स्थापित भएको यो कम्पनीले अनलाइनका साथै भौतिक रूपमै पनि जनशक्ति परिचालन गरेर पोलिसि बेच्ने र बीमा सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
नेपाल भरी नै आफ्नो सञ्जालमार्फत सेवा दिने यो कम्पनीले हालसम्म एक हजार बढी पोलिसि बेचिसकेको छ भने काठमाडौं उपत्यकामा मात्र सीमित रहेको ईएमआईमा समेत बीमा गर्न सकिने सेवालाई पनि देशभरमा बिस्तार गर्ने तयारी पनि गरिरहेको छ ।