काठमाडौँ । पछिल्लो समय सुस्त र शिथिल बनेको नेपालको अर्थतन्त्र चलायमान हुन थालेको नेपाल बैंकर्स संघले जनाएको छ । मङ्गलवार पत्रकार भेटघाट कार्यक्रम गर्दै संघले कर्जाको मागहरू बढ्न थालेसँगै अर्थतन्त्र सुधार उन्मुख रहेको बताएको छ ।
‘सुस्त भनिएको अर्थतन्त्रमा सुधार आएको यहाँहरूले नै देखिसक्नु भएको छ । कर्जा प्रवाह हुन थालेको छ घरजग्गा कारोबारमा बढोत्तरी आएको छ । यो सबै अर्थतन्त्र चलायमानको संकेत हो बैंक र वित्तीय संस्था पुरै बिग्रियो भन्ने चलाइएको हल्ला जस्तै छैन ‘ बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने
पछिल्लो समय जलविद्युत तथा पर्यटन क्षेत्रमा कर्जाको माग उल्लेख्य रूपमा बढेको कोइरालाको भनाई छ । साथै, निक्षेपको तुलनामा भने अझै पनि अपेक्षाकृत कर्जाको माग बढ्न नसकेको उनको स्वीकार छ ।
विगतमा उद्योगी व्यवसायीमा आत्मविश्वासको कमीका कारण कर्जाको माग आउन नसकेको उल्लेख गर्दै पछिल्लो समयमा केही सुधार भएको कोइरालाको भनाई छ । ‘ पछिल्लो समय कर्जाको माग बढ्न थालेको छ, विशेषगरी पर्यटन क्षेत्रमा माग उच्च छ, अब कर्जा बढ्छ भन्ने अपेक्षा गरौँ’ उनले भने ।
साथै उनले स्थानीय तहले रिकभरीमा सहयोग नगरेकाले बैंकको खराब कर्जा बढ्दै गएको उनको भनाई छ । बैंकहरुको कर्जा असुली प्रभावित भएकाले त्यसको असर बैंकहरुको खुद नाफामा परेको उनको धारणा छ ।
ऋणीसँग बैंकहरुको सम्बन्ध विग्रीदै गएको हो भन्ने प्रश्नमा अध्यक्ष कोइरालाले भने बजारमा हल्लाका रूपमा ती र त्यस्ता कुरा नआएका होइनन् , एक अर्थमा हेर्ने हो भने ऋणीले पैसा भनेको समयमा पैसा फिर्ता नगर्दा बैंकहरुमा समस्या चुलिएको साँचो हो तर सम्बन्ध नै बिग्रिएको होइन ।
उनले थप स्पष्ट पार्दै भने जबसम्म बैंक र ऋणीबिच समयमा लिने र दिनेको प्रक्रिया निरन्तर रूपमा चल्छ त्यतिबेलाम्म सम्बन्ध निकै सुमधुर हुन्छ तर जब त्यो प्रक्रियामा आनाकानी सुरु हुन्छ तब सम्बन्धमा सामान्य उतारचढाव आउनु वा आएजस्तो देखिनु स्वाभाविक हो तर वास्तवमै ऋणी र बैंकको सम्बन्ध नङ र मासुको जस्तै छ र हुन्छ भन्ने मलाई लाग्छ ।