काठमाडौँ । साताको चौथो कारोबारका दिन समेत शेयर बजारमा बढोत्तरी आएको छ । तिन दिनदेखि सामान्य सुधार देखिएको शेयर बजारले आज पनि निरन्तरता पाएको हो ।

बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको वित्तीय विवरण सार्वजनिक भएसँगै लगानीकर्तामा आत्मबल थपिएको बजारले पुष्टि गरेको छ । दोस्रो त्रैमासमा बैंकहरूको नाफा केही खुम्चिए पनि राष्ट्रिय स्तरका विकास बैंकहरूले औसतभन्दा राम्रो मुनाफा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५२.३६ अकंले बढेर २६६५.४५ बिन्दुमा कायम भएको छ। आज ३२२ कम्पनीको १ करोड ७६ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली हालेको छ। आज बैंकिङ समूहको १.३२ प्रतिशत, विकास बैंक समूहको २.७४ प्रतिशत, फाइनान्स समूहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७१ प्रतिशतले शेयर मूल्य बढेको छ।

यसअघि ३ हजारको तहसम्म पुगिसकेको नेप्से घट्दाघट्दा २४ सयकै लेबलमा झर्यो । त्यसयता भने विस्तारै बढेर अहिले नेप्से सूचक २६ सयको लेबलमा रहेको छ । त्यसो त २६–२७ सयको तहमा पनि बजारले धेरै पटक तलमाथि गरिरहेको छ।

सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ । समग्र सेयर धितो कर्जा गत वर्षको तुलनामा २० प्रतिशतले बढिसकेको छ । अझ, मध्यम र ठूला लगानीकर्ताले यस्तो कर्जा झन्डै ५० प्रतिशतले बढाएका छन् ।