काठमाडौँ। पछिल्लो ६ महिनाको अवधिमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा गिरावट आएको हो ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशत घटेर ११ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । खुद पि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेर १६ लाख रुपैयाँमा खुम्चिएको  प्रकाशित विवरणमा उल्लेख छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशतले घटेर ११ करोड ३२ लाख रुपैयाँ र सञ्चालन मुनाफा ४३.३८ प्रतिशत घटेर ७ करोड ४७ लाखमा सीमित भएको छ। वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ। चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ।