काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नआएपछि आज तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’को उद्घाटनमा नजाने भएका छन्। चिसोका कारण स्वर भासिएको र सुधार आउन थप आराम गर्नुपर्ने भएको कारण उक्त कार्यक्रममा उपस्थित हुन नसकेको सचिवालयले जानकारी दिएको छ ।
चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु’) आज हुँदैछ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम थियो । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।