काठमाडौँ । लामो समयको करेक्सन र साइडवेज प्रवृत्ति छिचोल्दै पछिल्लो केही सातादेखि नेप्सेले आकर्षक ढङ्गले उकालो यात्रा तय गरेको छ । सूचकसँगै कारोबार रकममा समेत लयबद्ध रूपमा उत्साह छाएको देखिन्छ ।
अधिकांश कम्पनीको साधारण सभा सम्पन्न भएको छ भने धेरैले लाभांश पनि पठाउन थालिसकेका छन् । सूचीकृत कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरण धेरैको आइसकेको अवस्था छ। लगानीकर्ताद्वारा यी सबैको अध्ययन र निचोडपछि बजारले उचाइ लिने प्रयास गरेको देखिन्छ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथि तिरै जान जोड बल गरिरहेको महसुस गर्न सकिन्छ । सरकारले हालै अध्यादेशमार्फत संशोधन गरेको लगानीसम्बन्धी कतिपय नीतिहरूका कारण निजी क्षेत्र उत्साहित देखिएको छ ।
यसको प्रभाव पनि सेयर बजारमा परेको अनुमान लाउन सकिन्छ तर बजारको बढोत्तरीको आयु कति हो ? बजारको आगामी यात्रा कस्तो रहला लगायतका प्रश्न सहित आर्थिक भ्वाइसले नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीलाई सोधको छ । प्रस्तुत छ गिरीको धारणा
यहाँले भनेझैँ विगत वर्षहरूमा भने बैंकहरुमा तरलता बढी हुँदा र ब्याजदर कम हुँदा बजार बढ्थ्यो। अहिले भने थोरै फरक किसिमको ट्रेन्ड देखिएको छ। बैंकहरुमा तरलता धेरै छ राष्ट्र बैंकले खिचेको खिच्यै छ तर पनि लगानीकर्ताहरूमा कन्फिडेन्स कम नै देखिएको छ ।
बजार के हुन्छ, अर्थतन्त्र अहिले त्यति सबल भइसकेको छैन भन्ने कुरा लगानीकर्ताको मानसिकतामा परेको छ। अर्थतन्त्र समस्यामा छ, घर वरिपरिका सान सानो पसलहरूमा समेत व्यापारै छैन भन्ने जस्ता कुराहरू गर्ने गर्छन् । यो कुराले नै पुष्टि हुन्छ कि अर्थतन्त्र लयमा छैन । यस्तो अवस्थामा लिक्विडिटी पनि अलि कम भएको भए बजार लयमा आउँथ्यो ।
हाम्रो बजारमा अहिले मुख्य सेक्टर भनेको बैङ्किङ सेक्टर अर्थात् फाइनान्स सेक्टर नै हो । उनीहरूको पनि अवस्था हेर्यो भने एनपीएल ५% भन्दा बढी नै छ। अझ भित्रभित्रै बढी नै पनि हुनसक्छ । यसले पनि फाइनान्स सेक्टर नै अप्ठ्यारोमा छन् भन्ने देखाउँछ। जसको प्रभावका कारण लगानीकर्ताहरू लगानी गर्न डराइरहेका छन् । यसै कारणले गर्दा बजार बढ्न नदिएको साँचो हो।
अब हिजो अस्तिका दिनमा विभिन्न किसिमका हल्लाखल्ला गरेर बजार बढेको थियो । त्यो समयमा आत्मबल ल्याएको जस्तो देखिएको थियो । तर जबरजस्ती ठेलिएको बजार त ठेलिदैन् । यस्तै अर्को कुरा भनेको नयाँ स्टक एक्सचेन्ज ल्याउने कुराले भने बजारमा केही घटबढ त गर्दैन । बरु यसले त बजारमा थप उत्साह देखिनुपर्ने हो। नयाँ स्टक एक्सचेन्ज आयो भने त अहिलेको जस्तो सरकारीमा होइन नयाँ इन्स्ट्रुमेन्टहरु ल्याएर आउँदा झन् बजार लयमा फर्किन सक्छ ।
समग्रमा भन्नुपर्दा नयाँ स्टक एक्सचेन्ज आउने कुराले त बजारमा केही पनि भएको होइन । हिट गर्ने मुख्य कारण भनेको अर्थतन्त्र लयमा नहुनु, मान्छेहरू ऋण लिन डराउनु हो जस्तो मलाई लाग्छ। यस्तै गभर्नरका कारण बजार बिग्रियो भन्ने भाष्य पनि बजारमा निर्माण भएको छ । उनको कार्यकाल पनि सकिँदै छ । यस्ता कारणहरूले चाहिँ बजार बढ्न नसक्या हो भन्न सकिन्छ ।
अब अलिकति बजार पनि लयमा फर्कन थाल्यो भनेर लगानीकर्ताहरूलाई उत्साहित बनाउने मात्र त हो। अब चाहिँ हाम्रो अर्थतन्त्र सही बाटोमा छ पहिला भनेजस्तो समस्या छैन, कम्पनी उद्योगहरूको पैसा तिरेको छैन । त्यसकारणले लगानीकर्ताहरूको मानसिकता नै हाम्रो बैंकिङ सेक्टर अथवा फाइनान्सियल सेक्टरको स्वास्थ्य ठिक छैन भन्ने परिसकेको छ । यसमाथि थप सरकारले गर्नुपर्ने पेमेन्टहरु पनि गरेको छैन, सरकारकै खर्च बढेको छैन, यस्ता कारणले नै लगानीकर्ताहरूको मनोबल केही घटेको छ ।
त्यसकारणले लगानीकर्ताहरूले अहिले लगानी नगरी पर्खिऔँ र हेरौँ भन्ने अवस्था सृजना भएको छ । विगत १५/२० दिन या एक दुई महिनाको अवस्था हेर्यो भने चाहिँ बजारमा झन्डै झण्डै पहिलाको जस्तै अवस्था छ। कहिले घट्छ, कहिले बढ्छ पनि त्यो किसिमको ट्रेन्डमा चाहिँ अहिलेको बजार चलिरहेको छ । सरकारले ल्याएको अध्यादेशका कारणले निजी क्षेत्रहरू उत्साहित देखिएका छन्।
त्यही कारणले अलिकति बजारलाई धकेल्नुपर्ने त हो । तर अहिले हामीले बढी स्वागत गरेको आइटी सेक्टर हो । तर हामीसँग आइटी कम्पनीहरू नै कम छन् । त्यसले गर्दा पनि सरकारले ल्याएको अध्यादेशको प्रभाव कम देखिएको हुन सक्छ । यो चाहिँ खासमा कम्पनीहरूको पर्फर्मेन्समा देखिनुपर्ने हो । हाम्रो बजारको बल्ब भनेको नै फाइनान्सियल सेक्टर र हाइड्रो मात्रै हो । तिनीहरूलाई तानेको अवस्था त छैन ।
यस्तै अहिले भनेको संशोधन मात्रै भएको हो । यसको राम्रो कार्यान्वयन भएको अवस्थामा भने बजार राम्रै रूपले अगाडी बढ्न सक्छ । मूख्यगरी मैले बजार किन बढ्न सकेन भन्ने विषयमा केन्द्रित भए समग्रमा बजारमा सुधारको अवस्था देखिएको छ । अब घट्ने र निराश हुने त्यति विधि ठाउँ देखिदैन् यसकारण बजारले चाँडै आम लगानीकर्तालाई खुसी पार्छ भन्ने मेरो बुझाई छ ।