काठमाडौं । आर्थिक वर्ष२०८१/८२ को ६ महिनाको अवधिमा करिब २४ अर्बले सेयर धितो कर्जा बढेको छ। बजारमा लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा र ओझेलमा रहेको ठुला लगानीकर्ताका आगमन बढ्दा सेयर धितो कर्जा बढ्न गएको जानकारहरूको भनाई छ ।
गत असार मसान्तमा ९० अर्ब ९ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा पुस मसान्त आउँदा आउँदा २३ अर्ब ६८ करोडले वृद्धि हुँदै १ खर्ब १३ अर्ब ७८ करोड पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा ७ अर्ब ९८ करोडले वृद्धि भएको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा झण्डै २४ अर्बले बढेको तथ्यांकमा उल्लेख छ ।
गत आवको पछिल्लो ६ महिनामा ५ अर्ब ८० करोड मात्रै सेयर धितो कर्जा बढेको थियो । चालु आर्थिक वर्षमा ६ महिनामा सेयर धितो कर्जाको वृद्धि भन्दा दोब्बरले बढी कर्जा बढेको हो।
राष्ट्रबैंकका अनुसार करिब २४ अर्बले सेयर धितो कर्जामा वृद्धि हुँदा साढे १९ अर्ब बढी कर्जा १ करोड माथिको देखिन्छ । गत असार मसान्तमा १ करोड भन्दा ठुलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा आउँदा ७७ अर्ब ४४ करोड पुगेको छ ।
राष्ट्रबैंकका अनुसार, ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ६ महिनामा १४।९ प्रतिशतले वृद्धि भएको छ। यस्तो सेयर धितो कर्जा १ अर्ब ८५ करोडले बढेर १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
२५ लाखदेखि ५० करोड रुपैयाँसम्को ऋण लगानी ११.९ प्रतिशतले बढेर १६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८.१ प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
अझै ब्याजदर घट्दो क्रममा रहेको र पूँजीकोषको केही दबाब भए पनि बैंकहरुसँग पर्याप्त लगानीयोग्य तरलता हुँदा रहेको अवस्थामा बैंकहरुले सेयर धितो कर्जामा पनि सहज रूपमा लगानी बढाएको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुको समग्र कर्जा ५.२ प्रतिशतले मात्रै वृद्धि भएको छ।